पश्चिम एसियामा इजरायल र इरानबीचको तनाव झन् चर्किँदै गएको छ। हालै इरानले इजरायलको दक्षिणी क्षेत्रमा रहेको सोरोका अस्पतालमा मिसाइल आक्रमण गरेपछि स्थिति थप बिग्रिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, इरानी आक्रमणपछि इजरायलले “अब अयातोल्लाह खामेनी बाँच्छैनन्” भन्दै कडा चेतावनी दिएको छ। यो खुला धम्कीले दुबै देशबीचको द्वन्द्वलाई थप जटिल बनाएको विश्लेषण गरिएको छ।

यता, अमेरिका पनि यस तनावपूर्ण घटनाक्रममा सक्रिय देखिएको छ। पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुई हप्ताभित्र इरानमाथि आक्रमण गर्ने कि नगर्ने निर्णय गर्ने घोषणा गरेका छन्। यो जानकारी ट्रम्पकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटमार्फत ह्वाइट हाउसले औपचारिक रूपमा सार्वजनिक गरेको हो।
ट्रम्पले युद्धको विकल्पमाथि गम्भीर रूपमा विचार गर्दै आएको र इरानी परमाणु केन्द्रहरूमा आक्रमणको आदेश दिने सम्भावनाबारे समीक्षा गरिरहेको बताइएको छ। तथापि उनले कूटनीतिक समाधानको ढोका अझै पूर्ण रूपमा बन्द नभएको संकेत दिएका छन्।

उनको भनाइमा, “वार्ताको लागि अझै ढिलो भइसकेको छैन“, जसले अमेरिका अझै पनि वार्ताको बाटो खुला राख्न इच्छुक देखिएको संकेत दिन्छ। तर, इजरायल–इरानबीचको पछिल्लो सैन्य तनाव, धम्की र आक्रमणको सन्दर्भमा अमेरिकी नीतिले कुन दिशा लिन्छ भन्ने चासोले अहिले विश्व राजनीति तताइरहेको छ।
विशेषज्ञहरूका अनुसार, यदि ट्रम्पले आक्रमणको निर्णय लिने हो भने यसले पश्चिम एसिया मात्र नभई, वैश्विक स्तरमै गहिरो असर पार्न सक्छ। हालको अवस्थामा सबैको नजर अमेरिका र ट्रम्पको आगामी निर्णयमा केन्द्रित भएको छ।
