
सिड्नी — गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको आगामी २०२५–२७ कार्यकालका लागि चूडामणि सापकोटा (ज्ञानु)ले महासचिव पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत उम्मेदवारी सार्वजनिक गर्दै पारदर्शिता, संस्थागत सुशासन, समन्वय र समुदायप्रति उत्तरदायी सेवा प्रवाहलाई आफ्नो अभियानको मूल आधार बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन्।
सापकोटाले एनआरएनए अष्ट्रेलियाभित्र युवा, महिला, व्यवसायिक तथा पेशागत वर्गहरूको प्रभावकारी सहभागिता सुनिश्चित गर्न आफू निरन्तर क्रियाशील रहने स्पष्ट पारेका छन्। उनले विगतमा विभिन्न सामाजिक अभियान, संस्थागत संयोजन, सामुदायिक परिचालन र नेतृत्व समन्वयमा प्राप्त अनुभवलाई आगामी कार्यकालमा नीतिगत, व्यवहारिक र सेवा–मुखी रूपान्तरण गर्ने योजना प्रस्तुत गरेका छन्।
“महासचिवको जिम्मेवारीमा रहँदा सूचना प्रवाह, दस्तावेज व्यवस्थापन, सदस्य सेवा तथा राज्य–राष्ट्रिय समन्वयमा पारदर्शिता र कार्यकुशलता कायम राख्ने मेरो प्राथमिकता हुनेछ,” सापकोटाले उम्मेदवारी घोषणामा उल्लेख गरेका छन्।
उनले अध्यक्ष पदका उम्मेदवार सन्तोष कुँवरको नेतृत्वदृष्टिकोण, नीति र योजना प्रतिप्रति विश्वास व्यक्त गर्दै त्यसलाई व्यवस्थित र सशक्त कार्यान्वयनमा रूपान्तरण गर्ने भूमिकामा आफू रहने उल्लेख गरेका छन्।
सापकोटाले आफ्नो अभियानमा एनआरएनए फाउन्डेसनलाई स्थायीत्वसहितको दातृ निकायको रूपमा विकास गर्ने, दोस्रो पुस्ताका नेपालीहरूलाई संस्थासँग सम्वद्ध गराउने संयन्त्र निर्माण गर्ने, च्यारिटी तथा सामाजिक उत्तरदायित्व कार्यक्रमहरू प्रवर्द्धन गर्ने, र प्रवासी नेपाली समुदायसँग सम्बन्धित नीतिगत संवादलाई प्रभावकारी बनाउने विषयलाई समेत प्राथमिकतामा राख्ने बताएका छन्।
“स्थायीत्व, रणनीति र सेवा—त्यही मेरो मूलमन्त्र हो,” उनले उम्मेदवारी सन्देशमा लेखेका छन्।
गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको निर्वाचन यही आउँदो जुलाई २६ तारिख, शनिबारका दिन हुन लागेको छ। चूडामणि सापकोटा (ज्ञानु)को उम्मेदवारीले संगठनभित्र अनुभव, सेवा, नेतृत्व र नीतिगत स्पष्टताको सन्तुलन ल्याउने अपेक्षा गरिएको छ।
उनको उम्मेदवारीलाई सामाजिक सञ्जाल र प्रवासी समुदायभित्र सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको देखिएको छ, जसले संस्थागत स्थायीत्व, पारदर्शी नेतृत्व र उत्तरदायित्वप्रति नयाँ आशा जागृत गराएको छ।
