पूर्वी नवलपरासीमा बाढीले यात्रुबाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार

पूर्वी नवलपरासीको विनयी खोलामा आएको बाढीले यात्रुबाहक बस बगाएको छ। घटनास्थल पूर्व–पश्चिम राजमार्गअन्तर्गत दुम्किबास क्षेत्र हो, जहाँ निरन्तरको वर्षाका कारण खोलामा आएको बाढीले अस्थायी डाइभर्सन समेत बगाएको छ।

बिहीबार राति करिब ११ बजे, भे १ ख ४०८५ नम्बरको यात्रुबाहक बस पूर्वबाट बर्दियातर्फ जाँदै गर्दा विनयी खोलाको बाढीले बगाएको हो। बसमा तीन बालबालिकासहित ३८ जना यात्रु सवार थिए। जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डीएसपी मधु नेपालका अनुसार सबै यात्रुहरूको सकुशल उद्धार गरिएको छ।

spot_img

घटनापछि बस करिब एक किलोमिटर तल बगिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय दुम्किबासका प्रहरी निरीक्षक राजन तिमिल्सेनाले बस अहिले मात्र फेला परेको र उद्धार कार्य सकिएको जानकारी दिए।

गत पुस महिनामा भारतीय ओभरलोड ट्रकले विनयी खोलामाथिको पुल भत्काएपछि सो स्थानमा अस्थायी डाइभर्सन निर्माण गरिएको थियो। तर वर्षासँगै आएको बाढीले पटक–पटक डाइभर्सन बगाउँदा सो क्षेत्रको यातायात अवरुद्ध भइरहने समस्या देखिएको छ।

हाल डाइभर्सन पुनः बगाएको कारण दुम्किबास–दाउन्ने सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। बाटो अत्यधिक हिलाम्य भएकाले धेरै सवारी साधनहरू बिच बाटोमै अलपत्र परेका छन्। स्थानीय प्रशासनले वैकल्पिक व्यवस्थाका लागि प्रयास गरिरहेको जनाएको छ।

Advertisement