विद्यार्थीहरूको शैक्षिक रोजाई बनेको अष्ट्रेलियाको अहिलेको नीति के छ ?

अष्ट्रेलिया नेपाली विद्यार्थीहरूका लागि उच्च शिक्षाको प्रमुख गन्तव्य बन्दै आएको छ। आर्थिक वर्ष २०८०–८१ मा मात्रै १४,३७२ विद्यार्थीले अष्ट्रेलियामा पढ्न जाने अनुमति (एनओसी) लिएका छन्।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार गत तीन महिनाको अवधिमा अष्ट्रेलियाका लागि २ हजार २ सय ६२ वटा वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) विद्यार्थीले लिएका छन् । यो तथ्यांक गत साउनदेखि असोजसम्मको हो ।

गुणस्तरीय शिक्षा, काम गर्ने अवसर र अध्ययनपछि दीर्घकालीन रोजगारीका सम्भावनाले अष्ट्रेलियालाई धेरै विद्यार्थीहरूको पहिलो रोजाइ बनाएको छ। अध्ययनका क्रममा विदेशी विद्यार्थीहरूले हप्तामा ४८ घण्टा काम गर्न पाउने र विदाको समयमा पूर्ण समय काम गर्न पाउने सुविधाले विद्यार्थीहरूको आर्थिक भार घटाउन सहयोग पुग्ने देखिन्छ।

हाल अष्ट्रेलियाले भिसा प्रक्रियामा केही कडाइ गरेको चर्चा भए पनि नेपालबाट भिसा आवेदन दिने ९० प्रतिशत विद्यार्थीले भिसा पाएका छन्। अष्ट्रेलियामा पुगेपछि कोर्स र कलेज परिवर्तन गर्दा भिसा थप्न कठिनाइ हुने जोखिम देखिएको छ।

जुन नीति लागू भएन

अष्ट्रेलियाले २०२५ सम्मका लागि अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या विश्वविद्यालयहरूका लागि निश्चित गर्ने प्रणाली लागू गर्ने प्रस्ताव गरेको थियो। तर, यो नीति पारित भएन। यसले केही विश्वविद्यालयहरूले विद्यार्थी भर्ना प्रक्रिया सीमित गरेपछि नेपालका विद्यार्थीहरूमा पनि प्रभाव परेको थियो।अष्ट्रेलियाले प्रस्तावित ‘क्याप सिस्टम’ अन्तर्गत विश्वविद्यालयहरूलाई अन्तर्राष्ट्रिय विद्यार्थीको अधिकतम संख्या तोक्ने योजना बनाएको थियो। यो योजना अनुसार, कुनै विश्वविद्यालयले ३ हजार, कुनैले ५ हजार, र कुनैले १० हजार विद्यार्थी भर्ना गर्न पाउने भनिएको थियो। यो प्रस्ताव सार्वजनिक भएपछि केही विश्वविद्यालयहरूले विद्यार्थी भर्ना रोक्दा नेपाली विद्यार्थीहरूमा अन्योलता सिर्जना भएको थियो।

तर, यो प्रणाली लागू नभएकाले भिसा प्रक्रिया पुनः सामान्य भएको छ। नेपालबाट आवेदन दिने विद्यार्थीहरूमध्ये करिब ९० प्रतिशतले भिसा पाएको तथ्यांकले देखाएको छ।यद्यपि, अष्ट्रेलिया पुगेपछि भिसा थप गर्ने प्रक्रियामा भने समस्या देखिएको छ। विश्वविद्यालय, कलेज, वा कोर्स परिवर्तन गर्दा भिसा थप गर्न कठिनाइ हुने गरेको छ। ।यसैबीच, अष्ट्रेलिया जान गाह्रो रहेको भन्ने धारणा गलत रहेको र नेपाली विद्यार्थीहरूको भिसा सफलता दर उच्च रहेको परामर्शदातृ संस्थाहरूले बताउँदै आएका छन्।

आईएलटीएस र पीटीई

अष्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि तयारी कक्षा महत्वपूर्ण हुन्छ। यसका लागि प्रमुखत: आईएलटीएस वा पीटीई जस्ता भाषा परीक्षा दुई महिनामा पास गर्नु आवश्यक हुन्छ। यदि विद्यार्थीको प्लस टुपछि एक वर्षको ग्याप भए पनि अध्ययन प्रक्रिया अगाडि बढाउन सम्भव हुन्छ। तर स्नातकको हकमा ग्याप पाँच वर्षसम्म हुने सम्भावना रहन्छ, तर यस अवधिमा कामको अनुभव प्रमाणित गर्नु अनिवार्य हुन्छ।

विद्यार्थीले आफूले अध्ययन गर्न चाहने विश्वविद्यालय, कलेज, र कोर्स चयन गर्नका लागि आफ्नो आर्थिक अवस्था र छात्रवृत्ति प्राप्ति सम्भावना समेत ध्यानमा राख्नुपर्छ। यसका लागि उपयुक्त परामर्श लिनु अति महत्त्वपूर्ण छ। सही मार्गदर्शन पाउँदा अष्ट्रेलिया अध्ययनको लागि उपयुक्त गन्तव्य बन्न सक्छ।

कति लाग्छ खर्च ?

अष्ट्रेलियामा विद्यार्थीहरूका लागि महँगो र कम खर्च लाग्ने विश्वविद्यालयहरू दुवै उपलब्ध छन्। १ वर्षको शैक्षिक शुल्क लगभग नेपाली १३ लाखदेखि ३५ लाख रुपैयाँसम्म भर्नु पर्ने हुन्छ भने विद्यार्थीहरू आफ्नो आर्थिक अवस्था अनुसार उपयुक्त कलेज पनि चयन गर्न सक्नेछन्। शुल्क कम भएका कलेजहरूमा आवेदन दिन पनि कुनै समस्या छैन।त्यस्तै, धेरै विश्वविद्यालयहरूले छात्रवृत्ति प्रदान गर्छन्, जसले विद्यार्थीलाई आर्थिक राहत दिन्छ। तर, छात्रवृत्तिको प्रतिशत विश्वविद्यालय अनुसार फरक-फरक हुन्छ। केहि विश्वविद्यालयहरूले शतप्रतिशत छात्रवृत्ति दिने प्रचलन राख्छ भने, केहीले २० देखि ५० प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराउँछन्।

प्लस टुपछि जाने धेरै

अष्ट्रेलिया जाने नेपाली विद्यार्थीहरूमा १२ कक्षा उत्तीर्ण गरेका विद्यार्थीहरूको संख्या अधिक देखिन्छ। अधिकांश कन्सल्टेन्सीहरूमा परामर्श लिन आउने विद्यार्थीहरू प्रायः १२ कक्षा उत्तीर्ण गरेका हुन्छन्।विशेष गरी, प्लस टु पछि अष्ट्रेलिया जान चाहनेहरूको संख्या बढी हुने गरेको छ। यद्यपि, मास्टर्स अध्ययन गर्दा तुलनात्मक रूपमा कम खर्च लाग्ने बताइएको छ।स्नातक कार्यक्रम ३ देखि ४ वर्षको हुने हुँदा खर्च अधिक हुन्छ, जबकि मास्टर्स २ वर्षको भएको कारणले कम खर्च र चाँडो काम सुरू गर्ने अवसर मिल्दछ। मास्टर्समा पढ्नका लागि विद्यार्थी परिपक्व भएका हुन्छन् र कम समयमै पेशागत अनुभव प्राप्त गर्न सक्छन्।

विद्यार्थीहरू विदेश जान बाध्य

नेपालमा गुणस्तरीय शिक्षा र रोजगारीको अवसरको अभावले धेरै विद्यार्थीहरू विदेश जान बाध्य भएका छन्। विदेश जान चाहेर होइन, अप्ठ्यारो परिस्थिति र अवसरको कमीले गर्दा नेपाली विद्यार्थीहरू विदेश जान बाध्य भएका छन्। नेपालमा राम्रो शैक्षिक कार्यक्रम र रोजगारको अवसर नभएको कारण, धेरै विद्यार्थीहरू विदेश जानुपर्ने स्थिति आइपरेको उनीहरूको गुनासो छ।उच्च शिक्षा र रोजगारीका अवसर पाउन अष्ट्रेलिया जाने विद्यार्थीहरूले अध्ययनपछि दुई-तीन वर्ष काम गर्ने अनुमति पाउँछन्। यो अवधिमा धेरैले स्थायी बसोबासका लागि पीआर प्रक्रिया अगाडि बढाउने गरेका छन्।नेपाल फर्कनको सट्टा, विदेशमा शैक्षिक डिग्री र कामको अनुभव प्राप्त गरेपछि उनीहरूलाई नेपालमा आफूले चाहेको श्रम मूल्य र अवसरको कमी महसुस हुन्छ। यसले गर्दा केही विद्यार्थीहरू विदेशमा स्थायी बसोबास गर्ने निर्णयमा पुग्छन्।

विदेश अध्ययनका लागि अष्ट्रेलियाको लोकप्रियता नेपाली विद्यार्थीहरूमा बढ्दै गए पनि नेपालमै शिक्षाको गुणस्तर र रोजगारीका अवसरलाई सुधार नगरेसम्म यो क्रम जारी रहने देखिन्छ।