अस्ट्रेलियाको राजधानी क्यानबेरामा महिलाहरूका लागि सर्भाइकल क्यान्सरसम्बन्धी निःशुल्क परीक्षण तथा स्वास्थ्य सचेतना कार्यक्रम आयोजना हुने भएको छ । NRNA ACT Nari Nikunja ले ACT Government र SHFPACT को संयुक्त आयोजनामा हुने कार्यक्रम यही २१ मे बेलकोनेनस्थित ANE College Belconnen मा सञ्चालन गरिने छ ।
आयोजकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य महिलाहरूमा सर्भाइकल क्यान्सरबारे जनचेतना फैलाउनु, नियमित Cervical Screening Test (CST) को महत्वबारे जानकारी दिनु तथा प्रारम्भिक पहिचानमार्फत रोग रोकथाममा सहयोग पुर्याउनु रहेको छ ।
सर्भाइकल क्यान्सर महिलाको पाठेघरको मुख (Cervix) मा हुने क्यान्सर हो । यो मुख्य रूपमा लामो समयसम्म रहने Human Papillomavirus (HPV) संक्रमणका कारण विकसित हुने गर्दछ । HPV एक सामान्य भाइरस भए पनि केही अवस्थामा यसको संक्रमण लामो समयसम्म रहँदा पाठेघरको मुखमा असामान्य कोष विकास हुन सक्छ, जसले पछि क्यान्सरको रूप लिन सक्छ । स्वास्थ्य विज्ञहरूका अनुसार सर्भाइकल क्यान्सर बिस्तारै विकसित हुने भएकाले समयमै परीक्षण गरेमा सुरुवाती अवस्थामै असामान्य कोषहरू पहिचान गरी उपचार गर्न सकिन्छ ।
स्वास्थ्यकर्मीहरूका अनुसार सर्भाइकल क्यान्सरको सुरुवाती चरणमा प्रायः कुनै लक्षण नदेखिन सक्छ । त्यसैले नियमित स्क्रिनिङलाई अत्यन्त आवश्यक मानिएको छ । नियमित जाँचले असामान्य कोषहरू चाँडै पत्ता लगाउन, क्यान्सर हुनुअघि नै रोकथाम गर्न, उपचार सफल हुने सम्भावना बढाउन तथा महिलाको दीर्घकालीन स्वास्थ्य सुरक्षामा सहयोग पुर्याउने छ ।
सर्भाइकल क्यान्सरका सम्भावित लक्षणहरूमा असामान्य रक्तस्राव, यौन सम्पर्कको समयमा दुखाइ, तल्लो पेट वा पेल्भिक क्षेत्रमा पीडा तथा असामान्य सेतो पानी वा डिस्चार्ज समावेश छन् । यद्यपि धेरै महिलाहरूलाई कुनै लक्षण नदेखिन पनि सक्ने भएकाले नियमित स्वास्थ्य परीक्षणलाई सबैभन्दा प्रभावकारी उपाय मानिएको छ ।
कार्यक्रममा महिलाहरूलाई सर्भाइकल क्यान्सर, HPV संक्रमण, रोकथामका उपाय, HPV खोप तथा नियमित स्वास्थ्य परीक्षणसम्बन्धी जानकारी प्रदान गरिनेछ । साथै स्वास्थ्य सचेतनामूलक प्रस्तुति, स्वास्थ्यकर्मीहरूसँग अन्तरक्रिया, स्थानीय स्वास्थ्य सेवाबारे मार्गदर्शन तथा स्वास्थ्य परामर्शसमेत उपलब्ध गराइने छ ।
आयोजक संस्थाले २५ वर्षभन्दा माथिका महिला, अहिलेसम्म CST परीक्षण नगरेका वा पछिल्लो पाँच वर्षभन्दा बढी समयदेखि परीक्षण नगरेका महिलालाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ ।
“समयमै जाँच गर्दा जीवन बचाउन सकिन्छ” भन्ने सन्देशसहित आयोजकले महिलाहरूलाई आफ्नो स्वास्थ्यप्रति सचेत रहन तथा नियमित सर्भाइकल स्क्रिनिङ गराउन अपिल गरेका छन् ।





