२०२४ को वसन्त ऋतु अस्ट्रेलियाको इतिहासमै सबैभन्दा तातो रह्यो। अस्ट्रेलियाको मौसम विभाग (BoM) का अनुसार, सेप्टेम्बरदेखि नोभेम्बरसम्मको औसत तापक्रम १९६१-१९९० को आधाररेखाभन्दा २.०८ डिग्री सेल्सियसले बढी थियो। यो १९१० यता रेकर्ड गरिएको सबैभन्दा तातो वसन्त हो।
देशका उत्तरी र दक्षिणी क्षेत्रहरूमा दैनिक अधिकतम तापक्रम ३० डिग्रीदेखि ४० डिग्री सेल्सियससम्म पुग्यो। अक्टोबर र नोभेम्बरमा लगातार गर्मीका लहरहरू देखा परेन , जसले धेरै क्षेत्रमा गम्भीर प्रभाव पारेको छ।
असामान्य गर्मीको बावजुद, यो वसन्त ऋतुलाई एकैपटक धेरै भिजेको पनि मानिएको र औसतभन्दा २८% बढी वर्षा भएको छ। पश्चिमी अस्ट्रेलिया, दक्षिणी अस्ट्रेलिया, र उत्तरी क्षेत्रलमा सामान्यभन्दा धेरै पानी परे तर, सबै ठाउँमा वर्षा समान भएन। न्यु साउथ वेल्स, भिक्टोरिया, र क्विन्सल्याण्डमा भने औसतभन्दा कम वर्षा भयो।
देशकै महत्त्वपूर्ण कृषि क्षेत्र मरे-डार्लिङ बेसिनले पनि ५% कम वर्षा अनुभव गर्यो भने यी असमान मौसमी परिस्थितिहरूले कृषि र जलस्रोत व्यवस्थापनमा थप चुनौती सिर्जना गरेको छ।

अस्ट्रेलियाका मौसम अभिलेखहरू १९१० देखि मानकीकरण गरिएका छन्, र हालका तापक्रमहरू १९६१-१९९० को आधाररेखासँग तुलना गरिन्छ। पछिल्ला दशकहरूमा औसतभन्दा धेरै गर्मी र वर्षाको असामान्यता देखिनु जलवायु परिवर्तनको संकेत हो। यो वसन्तले अस्ट्रेलियाको पारिस्थितिकी, कृषि, र दैनिक जीवनमा परिरहेको जलवायु परिवर्तनको प्रभावलाई झनै प्रष्ट बनाएको छ।

यदि तपाईं अस्ट्रेलियामा हुनुहुन्थ्यो भने यो वसन्त तपाईँका लागि पक्कै असामान्य महसुस भएको होला। उत्तरतिरको चर्को गर्मी र दक्षिणतिरको लगातार तापक्रमले धेरैलाई हैरान बनाएको छ भने गर्मीको लहरले मानिसको स्वास्थ्यदेखि जङ्गली जनावर र बोटबिरुवासम्म असर पुराएको छ ।
पश्चिम र उत्तरतिरको भारी वर्षाले केही क्षेत्रमा राहत दिए पनि न्यु साउथ वेल्स, भिक्टोरिया र क्विन्सल्याण्डजस्ता ठूला क्षेत्रहरू भने सुख्खा नै रह्यो । यस्तो असमान मौसमी स्थितिले किसानहरूलाई विशेष गरी समस्यामा पारेको छ।
यो वसन्त ऋतुले अस्ट्रेलियामा जलवायु परिवर्तनका प्रभावलाई अझ स्पष्ट पार्दै धेरै प्रश्न खडा गरेको छ—के अब यस्तो मौसमी परिस्थिति सामान्य बन्दै जान्छ?