क्यानबेरामा २१ नेपाली संघ–संस्थाद्वारा राजदूत चित्रलेखा यादवको सम्मानसहित बिदाइ

अष्ट्रेलियाका लागि नेपालकी राजदूत महामहिम चित्रलेखा यादवलाई वैशाख १८ गते क्यानबेरास्थित नेपाली समुदायले औपचारिक रूपमा सम्मानसहित बिदाइ गरेको छ। क्यानबेरामा सक्रिय २१ नेपाली संघ–संस्थाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा उहाँलाई कृतज्ञता-पत्र प्रदान गर्दै कार्यकालभर पुर्‍याउनुभएको योगदानको प्रशंसा गरिएको हो।

कार्यक्रममा नेपाली समुदायका अगुवा, विभिन्न संघ–संस्थाका प्रतिनिधि, व्यवसायी, युवा तथा समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले राजदूत यादवले आफ्नो कार्यकालमा नेपाल–अष्ट्रेलिया सम्बन्ध, नेपाली समुदायसँगको सहकार्य, संस्थागत समन्वय तथा सामुदायिक हितका विषयमा निर्वाह गर्नुभएको भूमिकालाई सकारात्मक रूपमा स्मरण गरेका थिए।

कृतज्ञता-पत्रमा राजदूत यादवले अष्ट्रेलियाका लागि नेपाली राजदूतका रूपमा रहँदा नेपाल तथा नेपाली समुदायको हित, उन्नति, एकता र सहकार्यका लागि उल्लेखनीय योगदान पुर्‍याउनुभएको उल्लेख गरिएको छ। साथै, उहाँको आत्मीय, सम्माननीय र अभिभावकीय भूमिकाले अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायलाई एकताबद्ध, प्रेरित र उत्साहित बनाएको छ।

कार्यक्रमका सहभागीहरूले अष्ट्रेलियामा नेपाली भाषा, संस्कृति, पहिचान र समुदायगत एकतालाई प्रवर्द्धन गर्ने सवालमा राजदूत यादवको सक्रियता प्रशंसनीय रहेको बताएका थिए। उनीहरूका अनुसार नेपाली संघ–संस्थासँगको सहकार्य, समुदायका कार्यक्रमहरूमा सहभागिता र नेपालीहरूको साझा सरोकारप्रति देखाएको चासोले उहाँको कार्यकाललाई क्यानबेरास्थित नेपाली समुदायका लागि स्मरणीय बनाएको छ।

बिदाइ कार्यक्रममा आयोजक २१ संघ–संस्थाले राजदूत यादवप्रति धन्यवाद तथा सम्मान व्यक्त गर्दै आगामी यात्राका लागि शुभकामना दिएका थिए। उहाँका आगामी दिनहरू नेपाल तथा नेपाली जनताको हितमा सुखमय, समृद्धिमय र प्रगतिमय रहून् भन्ने कामना समेत गरिएको थियो।

क्यानबेरास्थित नेपाली संघ–संस्थाहरूको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रमले अष्ट्रेलियामा रहेका नेपाली समुदायबीचको एकता, सम्मान र सहकार्यको सन्देश प्रवाह गरेको छ।

Advertisement