अष्ट्रेलियामा नेपालको पहिचान, पर्यटन, प्राकृतिक सम्पदा र सांस्कृतिक विविधताको प्रवर्द्धन गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय एभरेष्ट डे २०२६ देशव्यापी रूपमा मनाइने भएको छ।
अष्ट्रेलियास्थित नेपाली संघ–संस्थाहरूको साझा संगठन फेडेरेशन अफ नेप्लिज कम्युनिटी एसोसियसन अफ अष्ट्रेलिया (FeNCCA) को आयोजनामा मे २९ र ३० मा अष्ट्रेलियाका सबै राज्यमा विभिन्न कार्यक्रमसहित एभरेष्ट डे मनाउने तयारी गरिएको हो।
फेन्काका उपाध्यक्ष तथा मूल कार्यक्रम संयोजक कपिल पाण्डेका अनुसार मे २९ मा जुममार्फत भर्चुअल कार्यक्रम हुनेछ भने मे ३० मा अष्ट्रेलियाका आठवटै राज्यमा प्रत्यक्ष रूपमा कार्यक्रम आयोजना गरिनेछ। संसारकै सर्वोच्च शिखर सगरमाथा नेपालमा रहेको तथ्य र नेपालको प्राकृतिक तथा सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय समुदायसम्म पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए।
फेन्काका केन्द्रीय अध्यक्ष डा. मधुसुदन पुडासैनीले सगरमाथाको विश्वव्यापी पहिचानमार्फत नेपालको पर्यटन प्रवर्द्धन गर्ने र पर्यटन क्षेत्रलाई चलायमान बनाउने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको बताए। उनका अनुसार यस्ता कार्यक्रमले नेपालको पर्यटन क्षेत्रसँगै आर्थिक गतिविधिमा समेत सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।

“पग्लँदै गरेको हिउँ, बढ्दो जिम्मेवारी” (Melting Ice, Rising Responsibility) भन्ने नारासहित मे ३० मा स्थानीय समयअनुसार बिहान ९:३० बजेदेखि नेपाली कला, संस्कृति र पहिचान झल्कने विविध कार्यक्रम सञ्चालन हुनेछन्।
न्यू साउथ वेल्समा भने सिड्नीस्थित टिम्ब्रेल पार्क, २ हेन्ली मरिन ड्राइभ, फाइभ डकमा मे ३० शनिबार बिहान ९:३० बजेदेखि दिउँसो १:३० बजेसम्म विशेष कार्यक्रम आयोजना हुनेछ। सो अवसरमा “सगरमाथा र हिमाल क्षेत्रको संरक्षण” विषयमा बाल चित्रकला प्रतियोगिता तथा प्रदर्शनी २०२६ पनि आयोजना गरिनेछ।
रुपन्देही सामाजिक सञ्जालका संरक्षक तथा न्यू साउथ वेल्सका संयोजक मुक्तिराम पोखरेलले नेपाली भेषभूषा, कला, संस्कृति र विविध प्रस्तुतिमार्फत नेपाल चिनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए। उनले विदेशमा रहेर पनि नेपाली समुदायले मातृभूमिको पर्यटन, कला र संस्कृति जगेर्ना तथा प्रचारप्रसारमा योगदान पुर्याउँदै आएको उल्लेख गरे।
पोखरेलले समुदायका अगुवा, सामाजिक व्यक्तित्व, संघ–संस्थाका प्रतिनिधि, अभिभावक, बालबालिका तथा सरोकारवालालाई कार्यक्रममा सहभागी भई नेपालको पहिचान प्रवर्द्धनमा साथ दिन आग्रह गरेका छन्।




