अष्ट्रेलियामा सन् २०२६ को जनगणना (Census) लाई लक्षित गर्दै १६ हजारभन्दा बढी अस्थायी रोजगारी खुला गरिएको छ, जसका लागि पूर्व कार्यअनुभव आवश्यक नपर्ने जनाइएको छ।
Australian Bureau of Statistics (ABS) ले देशभरका मुख्य शहर तथा क्षेत्रीय क्षेत्रमा ‘फिल्ड अफिसर’ पदका लागि आवेदन खुला गरेको हो। आगामी अगस्ट ११, २०२६ मा हुने जनगणनाको तयारीस्वरूप यी पदहरूमा कर्मचारी भर्ना प्रक्रिया सुरु गरिएको बताइएको छ।
ABS का अनुसार सफल आवेदकलाई प्रति घण्टा ३१.१९ अष्ट्रेलियन डलर पारिश्रमिक उपलब्ध हुनेछ, साथै सुपरएनुएसन (निवृत्तिभरण कोष) सुविधा समेत दिइनेछ।
फिल्ड अफिसरहरूको मुख्य जिम्मेवारी जनगणनासम्बन्धी जानकारी नागरिकसम्म पुर्याउने, जनगणना पत्र तथा फारम वितरण गर्ने, प्रतिक्रिया नदिएका घरधुरीसँग पुनः सम्पर्क (follow-up) गर्ने तथा आवश्यक परेमा फारम भर्न सहयोग गर्ने रहनेछ। यसका साथै सर्वसाधारणका जिज्ञासा समाधान गर्ने कार्य पनि उनीहरूको दायित्वभित्र पर्नेछ।
यस पदका लागि आवेदन दिने उम्मेदवारसँग स्पष्ट र प्रभावकारी मौखिक तथा लिखित सञ्चार क्षमता हुनुका साथै संवेदनशील र सम्मानजनक ढंगले मानिसहरूसँग व्यवहार गर्न सक्ने दक्षता आवश्यक मानिएको छ। साथै संगठनात्मक क्षमता, स्वतन्त्र रूपमा तथा टोलीमा काम गर्न सक्ने योग्यता र दबाबमा पनि काम गर्न सक्ने क्षमता पनि आवश्यक पर्ने बताइएको छ।
तर, ABS ले यी पदहरूका लागि पूर्व कार्यअनुभव अनिवार्य नरहेको स्पष्ट पारेको छ, जसले नयाँ रोजगार खोजिरहेका व्यक्तिहरूका लागि ठूलो अवसर सिर्जना गरेको छ।
चयन भएका उम्मेदवारहरूले काम सुरु गर्नुअघि अनलाइनमार्फत सशुल्क तालिम लिनुपर्नेछ। उनीहरूले जुलाई वा अगस्टको सुरुवातदेखि काम सुरु गर्नेछन्।
यससँगै ABS ले फिल्ड म्यानेजर तथा मोबाइल फिल्ड प्रतिनिधिजस्ता अन्य पदहरूमा समेत आवेदन खुला गरेको जनाएको छ।
अष्ट्रेलियामा हाल करिब ३.३८ मिलियन मानिस बेरोजगार वा अर्ध–बेरोजगार अवस्थामा रहेको तथ्यांकका बीच यस्तो रोजगारी खुल्नु श्रम बजारका लागि सकारात्मक संकेतका रूपमा हेरिएको छ।
सन् २०२६ को जनगणना अगस्ट ११ मा आयोजना हुनेछ, जहाँ अधिकांश घरधुरीले अनलाइनमार्फत विवरण भर्ने अपेक्षा गरिएको छ। यसपटकको जनगणनामा १६ वर्षभन्दा माथिका व्यक्तिहरूका लागि ‘यौन अभिमुखीकरण र लैङ्गिक पहिचान’ सम्बन्धी नयाँ विषयसमेत समावेश गरिने भएको छ।
सम्बन्धित व्यक्तिहरूले आवेदन तथा थप जानकारीका लागि आधिकारिक जनगणना वेबसाइटमार्फत विवरण हेर्न सक्नेछन्।





