Bondi Beach मा भएको आतङ्ककारी आक्रमणपछि न्यू साउथ वेल्स (NSW) मा वैध बन्दुक स्वामित्वको दायरा र नियमन प्रणालीमाथि गम्भीर बहस सुरु भएको छ। आक्रमणमा संलग्न भई मृत्यु भएका सजिद अकराम सन् २०२३ देखि वैध बन्दुक लाइसेन्स रहेको र उनका नाममा छ वटा बन्दुक दर्ता रहेको तथ्य सार्वजनिक भएपछि “एक व्यक्तिले कानुनी रूपमा कति बन्दुक राख्न पाउनुपर्छ?” भन्ने प्रश्न फेरि केन्द्रमा आएको हो।
NSW सरकारको तथ्यांकअनुसार जुलाई २०२५ सम्म राज्यमा २ लाख ५४ हजार ९ सय ९२ जना दर्ता भएका बन्दुकधारी छन् (कलेक्सनधारी बाहेक)। सोही अवधिमा राज्यभर ११ लाख ३३ हजार ६ सय ९० वटा बन्दुक दर्ता छन्, जुन अष्ट्रेलियाका सबै राज्यमध्ये सबैभन्दा बढी हो। यीमध्ये १ लाख ७ हजार २ सय १९ वटा बन्दुक मात्र बन्दुक व्यापारी वा आधिकारिक कलेक्सनसँग सम्बन्धित छन्।
हालको कानुनअनुसार NSW मा एक व्यक्तिले राख्न पाउने बन्दुकको संख्यामा कुनै कानुनी सीमा छैन। यही कारण केही क्षेत्रहरूमा बन्दुक स्वामित्व अत्यधिक देखिएको छ। सिड्नीका विभिन्न उपनगरहरूमा हजारौँ लाइसेन्सधारी छन्। क्याम्डेन उपनगरमा मात्रै २,६२१ जना बन्दुकधारी रहेका छन्, जहाँ कुल ९,९५६ वटा बन्दुक दर्ता छन्। यो औसतमा प्रति व्यक्ती ३.७ बन्दुक पर्न जान्छ।
सिड्नी बाहिरका क्षेत्रमा अवस्था अझै गम्भीर देखिन्छ। बाथर्स्ट राज्यकै सबैभन्दा धेरै बन्दुकधारी भएको क्षेत्र हो, जहाँ ३,६८३ जना लाइसेन्सधारी छन्। गोलबर्न दोस्रो स्थानमा छ, जहाँ ३,३३८ जना बन्दुकधारी रहेका छन्। सरकारी विवरणअनुसार गोलबर्नमा एक व्यक्तिको नाममा २९८ वटा बन्दुक, सिड्नीको चिफ्ली–ला पेरुज क्षेत्रमा २९५ वटा, र पञ्चबोलमा एक व्यक्तिसँग २२६ वटा बन्दुक दर्ता छन्। यी व्यक्ति न त बन्दुक व्यापारी हुन्, न त आधिकारिक कलेक्सनधारी।
समग्रमा NSW मा प्रत्येक दर्ता बन्दुकधारीसँग औसतमा चार वटा बन्दुक रहेको देखिन्छ। प्रतिबन्धित हतियारका लागि जारी गरिएका अनुमति (permit) मध्ये अधिकांशको कारण “general” अर्थात् अस्पष्ट श्रेणीमा राखिएको सरकारी रिपोर्टले देखाएको छ। यस्तो रिपोर्ट NSW सरकारले हरेक दुई वर्षमा सार्वजनिक गर्दै आएको छ, र नयाँ तथ्यांक यसै महिना सार्वजनिक हुने अपेक्षा गरिएको छ।
कानुन कडाइ गर्ने तयारी
बोन्डी बीच घटनापछि संघीय र राज्य दुवै तहमा बन्दुक कानून पुनरावलोकनलाई प्राथमिकतामा राखिएको छ। प्रधानमन्त्री एन्थोनी अल्बानीजले राष्ट्रिय क्याबिनेट बैठकपछि एक व्यक्तिले राख्न पाउने बन्दुकको संख्यामा सीमा तोकिने बताएका छन्।
NSW प्रिमियर क्रिस मिन्सले डिसेम्बर २२ र २३ मा संसद पुनः बोलाएर आपतकालीन कानुन पारित गर्ने घोषणा गरेका छन्। प्रस्तावित सुधारमा:
- बन्दुक स्वामित्वमा संख्या सीमा (cap)
- केही बन्दुकको पुनःवर्गीकरण
- शटगनको म्यागजिन क्षमतामा कटौती
- बन्दुक लाइसेन्स रद्द गर्ने प्रहरी निर्णय उल्ट्याउने NSW Civil and Administrative Tribunal (NCAT) को अधिकार कटौती समावेश छन्।
NSW प्रहरी आयुक्त माल ल्यननले सजिद अकरामसँग वैध बन्दुक लाइसेन्स रहेको र विगतमा कुनै अनुशासनहीन घटना नदेखिएको बताएका छन्। तर घटनाले विद्यमान प्रणाली पर्याप्त सुरक्षित छ कि छैन भन्ने गम्भीर प्रश्न उठाएको विश्लेषकहरूको भनाइ छ।
अष्ट्रेलियामा हाल चार मिलियनभन्दा बढी बन्दुक नागरिकको स्वामित्वमा छन्। हालको बन्दुक कानून सन् १९९६ को पोर्ट आर्थर नरसंहारपछि तत्कालीन प्रधानमन्त्री जोन होवार्डको पहलमा बनेको National Firearms Agreement मा आधारित छ। बोन्डी बीच घटनाले तीन दशक पुरानो यो ढाँचालाई पुनः कडाइका साथ समीक्षा गर्नुपर्ने आवश्यकता स्पष्ट पारेको छ।





