अष्ट्रेलियाको भिक्टोरिया राज्यमा अपराध दर पछिल्लो १० वर्षयताकै उच्च बिन्दुमा पुगेको छ। सन् २०२५ सेप्टेम्बरसम्मका १२ महिनामा राज्यका करिब ३ प्रतिशत नागरिक (२ लाख ३५ हजारभन्दा बढी) अपराधको सिकार बनेका छन्।
Crime Statistics Agency (CSA) को त्रैमासिक तथ्यांकअनुसार सो अवधिमा राज्यभर ६ लाख ४० हजारभन्दा बढी आपराधिक घटना दर्ता भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा १०.८ प्रतिशतले वृद्धि हो।
तथ्यांकले देखाएअनुसार करिब ६,६०० दोहोरिने अपराधीहरू ले कुल अपराधको २५ प्रतिशत हिस्सा ओगटेका छन्। खुद्रा चोरी, सवारीसाधन चोरी तथा सवारीसाधनबाट हुने चोरी अपराध वृद्धिका मुख्य कारण बनेका छन्।
युवा अपराध राज्यका लागि गम्भीर चुनौती बनेको छ। तथ्यांकअनुसार
- डकैतीको ६२ प्रतिशत,
- कारज्याकिङको ६० प्रतिशत,
- घरमा जबर्जस्ती प्रवेशको ५४ प्रतिशत,
- र गम्भीर चोरीका करिब आधा घटना बाल अपराधीहरूसँग सम्बन्धित छन्।
गत वर्ष मात्र करिब १,२०० बालबालिकालाई ७,१०० पटकभन्दा बढी पक्राउ गरिएको भिक्टोरिया प्रहरीको भनाइ छ।
भिक्टोरिया प्रहरीका उप–आयुक्त रोबर्ट हिलले अपराध पीडितको संख्या “चिन्ताजनक” रहेको बताएका छन्। उनका अनुसार यस वर्ष लागू गरिएका कडा जमानत कानुनले केही सकारात्मक संकेत देखाउन थालेको छ, जसअनुसार बाल अपराधीहरूलाई हिरासतमा राख्ने संख्या ७० प्रतिशतले बढेको छ।
यसै अवधिमा राज्यमा ३३ हजारभन्दा बढी सवारीसाधन चोरी भएका छन्, जसमध्ये प्रत्येक चारमध्ये एक चोरी आधुनिक प्रविधि प्रयोग गरी सवारीको सुरक्षा प्रणाली निष्क्रिय पारेर गरिएको प्रहरीले जनाएको छ।
पारिवारिक हिंसाका घटना पनि १ लाख ५ हजारभन्दा बढी दर्ता भएका छन्, जसको ६० प्रतिशत घटनामा संरक्षण आदेश उल्लङ्घन भएको देखिएको छ। प्रहरीका अनुसार यस्ता उल्लङ्घनमा मोबाइल फोन र सामाजिक सञ्जालको प्रयोग प्रमुख माध्यम बनेको छ।
भिक्टोरिया प्रहरीले सो अवधिमा करिब ७८ हजार व्यक्तिलाई पक्राउ गरेको छ, जुन दैनिक औसत २१३ जना बराबर हो। यसै वर्ष मात्र प्रहरीले १६ हजारभन्दा बढी चक्कु पनि बरामद गरेको जनाएको छ।
प्रहरी प्रशासनले तथ्यांक चिन्ताजनक भए पनि अपराध नियन्त्रणका लागि निरन्तर प्रयास जारी रहेको र सबै भिक्टोरियनको सुरक्षाप्रति प्रतिबद्ध रहेको जनाएको छ।





