अष्ट्रेलियाली यूवतीहरू अनलाइन अपराध समूहको निशानामा, हिंस्रक कार्यमा फसाउने नयाँ प्रवृत्ति फैलिँदै

अष्ट्रेलियाली यूवतीहरू अनलाइन अपराध समूहहरू (online crime networks) को निशानामा परिरहेका छन् । ती समूहहरूले यूवतीहरूलाई आफ्नै शरीर, दाजुभाइ–दिदीबहिनी वा घरपालुवा जनावरमाथि नै हिंस्रक कार्य गर्न बाध्य बनाइरहेका छन् । अष्ट्रेलियाली संघीय प्रहरी (Australian Federal Police – AFP) ले यसलाई “अनलाइन खेल (online gaming) जस्तै विकृत मनोरञ्जन (twisted gamification)” को रूपमा व्याख्या गरेको छ।

AFP प्रमुख क्रिसी ब्यारे (Krissy Barrett) का अनुसार यो “लैङ्गिक हिंसाको नयाँ र डर लाग्दो रूप” हो, जसलाई रोक्न अष्ट्रेलियाले नयाँ विशेष कार्यदल (taskforce) गठन गरेको छ। उनले बुधबार दिएको भाषणमा भनिन्, “यो अपराधको नयाँ मोर्चा विश्वभर फैलिँदैछ, जसले विशेष गरी किशोरीहरूलाई गम्भीर मानसिक र सामाजिक असर पुर्‍याइरहेको छ।”

Advertisement

हालसम्म अष्ट्रेलियामा तीन जना र अन्य नौ जना विदेशी नागरिक पक्राउ परेका छन् । यद्यपि, पीडितहरूलाई गराइएका हिंस्रक कार्यहरूको विवरण सार्वजनिक गरिएको छैन। Barrett का अनुसार ती अपराधीहरू चरम विचारधारा (extremist ideologies)का समर्थक हुन् र “मनोरञ्जनको लागि मानिसलाई दुःख दिने” उद्देश्यले यस्तो कार्य गर्छन्।

ती अपराधीहरू प्रायः किशोर वा २० वर्षको सुरुवाती उमेरका हुन्छन् र पश्चिमी पृष्ठभूमिबाट आएका हुन्छन्। उनीहरूले गेमिङ प्लेटफर्महरू (gaming platforms) जस्तै Roblox र सन्देश एपहरू (messaging apps) जस्तै Discord र Telegram प्रयोग गरी किशोरीहरूलाई फसाउने गर्छन्।

Barrett का अनुसार ती अपराधीहरूलाई उनीहरूले crimefluencers भन्ने गर्छन् । उनीहरू निहिलिज्म (nihilism), स्याडिज्म (sadism), नाजिवाद (Nazism) र सैतानवाद (satanism) जस्ता विचारधारामा विश्वास गर्छन्। उनीहरूको मुख्य लक्ष्य भनेका कम आत्मसम्मान भएका र मानसिक समस्याबाट ग्रसित केटीहरू हुन्।

AFP प्रमुखले भनिन्, “यी समूहहरू मल्टिप्लेयर अनलाइन गेमिङ संस्कृतिसँग मिल्दोजुल्दो छन्। उनीहरू सिकार खोज्छन्, पछ्याउँछन् र अनलाइन प्लेटफर्महरूबाट तान्छन्। उनीहरूलाई आफ्ना कार्यको परिणामको पूर्ण बोध नहुन सक्छ।”

उनका अनुसार, “यी नेटवर्कभित्रका व्यक्तिहरूको उद्देश्य पैसा वा यौन सन्तुष्टि होइन, केवल मनोरञ्जन र अनलाइन लोकप्रियता हो।”

अष्ट्रेलियाभर करिब ६० जना सम्भावित अपराधीहरू पहिचान भइसकेका छन् र AFP ले अमेरिका, बेलायत, न्यूजिल्याण्ड र क्यानाडासँग सहकार्य गरी ती समूहहरूलाई नियन्त्रणमा ल्याउने प्रयास गरिरहेको छ।

साथै, प्राविधिक कम्पनीहरू (tech companies) ले पनि प्रहरीलाई सहयोग गर्दै एआई (AI) प्रणाली विकास गरिरहेका छन्, जसले इमोजी (emojis) र गोप्य कोड (slang codes) प्रयोग गरी गरिने हिंसात्मक छलफलहरू पत्ता लगाउन मद्दत गर्नेछ।

यो घटनाक्रम अष्ट्रेलियामा १६ वर्षमुनिका प्रयोगकर्ताहरूका लागि लागू हुने नयाँ सामाजिक सञ्जाल प्रतिबन्ध (social media ban) अघि आएको हो। यो प्रतिबन्ध डिसेम्बरदेखि लागू हुनेछ, जसको उद्देश्य बालबालिकालाई अनलाइन हानिबाट जोगाउने हो। तर, गेमिङ र म्यासेजिङ प्लेटफर्महरू भने हालका लागि यस कानुनबाट मुक्त राखिएका छन्।