
अष्ट्रेलियामा पछिल्ला हप्ताहरूमा लगातार भएका ट्रिपल–० (आपतकालीन कल प्रणाली) अवरोधले देशभर चिन्ता बढाएको छ। उक्त विषयमा कडा कदम चाल्दै सञ्चार तथा डिजिटल मन्त्रालयले देशका तीन प्रमुख टेलिकम कम्पनीका उच्च अधिकारीहरूलाई क्यानबेरामा प्रत्यक्ष बैठकका लागि बोलाएको छ।
मन्त्री अनिका वेल्सले भोलिदेखि सुरु हुने संसद अधिवेशनकै क्रममा Optus का CEO स्टिफन रु, Telstra की CEO विक्की ब्र्याडी र TPG/Vodafone का CEO इनाकी बेरोएटा सँग बैठक गर्न लागेकी हुन्। बैठकमा सरकारको प्रमुख उद्देश्य आगामी बुशफायर र चक्रवात सिजनअघि आपतकालीन सेवा प्रणाली विश्वसनीय र द्रुत रूपमा सञ्चालनमा रहोस् भन्ने सुनिश्चितता लिनु रहेको बताइएको छ।
गत महिनाको मध्यतिर भएको Optus नेटवर्कको ठूलो अवरोधले चार राज्य (न्यू साउथ वेल्स, दक्षिण अष्ट्रेलिया, पश्चिम अष्ट्रेलिया र नर्दन टेरिटरी) का हजारौं आपतकालीन कलहरू अवरुद्ध बनेका थिए। यस घटनाले कम्तीमा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ। त्यसपछि Telstra मा पनि साना तर महत्वपूर्ण स्तरका प्राविधिक समस्या देखिएका थिए, जसले देशभरको आपतकालीन प्रणालीको विश्वसनीयतामाथि प्रश्न उठाएको छ।
मन्त्री वेल्सले भनेकी छन् — “अष्ट्रेलियाली जनतालाई आफ्नो आपतकालीन कल प्रणालीमा पूर्ण विश्वास हुनुपर्छ। टेलिकम कम्पनीहरूले आफ्नो कानुनी र नैतिक जिम्मेवारी गम्भीरतापूर्वक लिनुपर्छ। अब समय आएको छ कि तिनीहरूले पारदर्शिता, द्रुत प्रतिक्रिया र प्राविधिक विश्वसनीयता सुनिश्चित गर्न ठोस कदम चालून्।”
सरकारले यस घटनापछि “Triple-0 Custodian Authority” लाई थप सशक्त बनाउने र रियल–टाइम रिपोर्टिङ अनिवार्य गर्ने नयाँ कानूनी व्यवस्था ल्याउने तयारी गरेको छ। सो प्रस्तावित नियम नोभेम्बर १ देखि लागू हुने योजना रहेको छ। यसले आपतकालीन प्रणालीका प्राविधिक समस्या तुरुन्त पत्ता लगाउने र सेवा अबरोध हुँदा जनतालाई छिट्टै सूचित गर्ने व्यवस्था गर्नेछ।
Optus, Telstra र Vodafone तीनै कम्पनीले आपतकालीन सेवाको निरन्तरतामा देखिएको कमजोरीबारे सरकारसँग पूर्ण सहकार्य गर्ने र भविष्यमा यस्ता समस्या नदोहोरिने सुनिश्चितता दिन प्रतिबद्धता जनाएका छन्।
विशेषज्ञहरूका अनुसार, आगामी हप्ताहरूमा हुने यस बैठकले अष्ट्रेलियाको आपतकालीन पूर्वाधार र टेलिकम नियमनमा नयाँ नीति परिवर्तन ल्याउने सम्भावना पनि देखिएको छ।
