AI प्रयोग गरी त्रुटिपूर्ण प्रतिवेदन तयार गरेपछि Deloitte ले सरकारलाई रकम फिर्ता गर्ने

अन्तर्राष्ट्रिय परामर्श कम्पनी Deloitte ले AI प्रयोग गरेर तयार गरेको ४ लाख ४० हजार डलर मूल्य बराबरको प्रतिवेदनमा गल्तीहरू फेला परेपछि अष्ट्रेलियाली संघीय सरकारलाई आंशिक रकम फिर्ता गर्ने भएको छ।

Department of Employment and Workplace Relations (DEWR) ले सन् २०२४ डिसेम्बरमा आफ्नो ‘targeted compliance framework’ र IT प्रणालीको समीक्षा गर्न Deloitte लाई जिम्मा दिएको थियो। तर, उक्त प्रतिवेदनमा सन्दर्भ र फुटनोटहरूमा धेरै त्रुटि भेटिएपछि विभागले स्पष्टिकरण माग गरेको थियो।

प्रतिवेदन पछि संशोधन गरिएको छ — त्रुटिपूर्ण सन्दर्भहरू हटाइएका छन्, नयाँ र सही स्रोतहरू समावेश गरिएको छ, र सुधारिएको प्रतिवेदन विभागको वेबसाइटमा पुनः प्रकाशित गरिएको छ।

DEWR का प्रवक्ताले पुष्टि गर्दै भनेका छन्, “यस विषयमा कम्पनीले सम्झौताअनुसार अन्तिम किस्ता रकम फिर्ता गर्ने सहमति गरेको छ। लेनदेन पूरा भएपछि विवरण सार्वजनिक गरिनेछ।”

सिड्नी विश्वविद्यालयका कल्याण–विशेषज्ञ क्रिस रुज ले जुलाईमा प्रकाशित प्रतिवेदनमा दर्जनभन्दा बढी गल्ती देखेपछि यसबारे पहिलो पटक सार्वजनिक रूपमा प्रश्न उठाएका थिए। उनका अनुसार, “मैले पढ्ने बित्तिकै बुझें कि सन्दर्भहरू बनावटी थिए, किनकि ती नामका लेख वा अनुसन्धानहरू वास्तविक रूपमा अस्तित्वमै थिएनन्।”

एक गलत सन्दर्भमा लेखको शीर्षक “The Rule of Law and Administrative Justice in the Australian Social Security System” उल्लेख गरिएको थियो, जबकि वास्तविक कामको शीर्षक “The Rule of Law and the Australian Constitution” हो।

रुजका अनुसार, यी गल्तीहरूमा “AI द्वारा तयार गरिएको सामग्रीका सबै लक्षण” देखिन्थे। उनले भने, “मानवले अस्तित्वमै नभएका पुस्तक शीर्षक बनाउन सक्दैन। त्यसैले यो AI को प्रयोगबाट आएको परिणाम स्पष्ट छ।”

अष्ट्रेलियन Financial Review ले सन् २०२५ अगस्टमा पहिलो पटक गल्तीबारे रिपोर्ट गरेपछि, सेप्टेम्बरमा Deloitte ले सुधारिएको प्रतिवेदन पुनः अपलोड गरेको थियो। नयाँ संस्करणमा कम्पनीले भनेको छ — “सन्दर्भ र फुटनोटमा गरिएको सानो संशोधनले प्रतिवेदनको मुख्य सामग्री र निष्कर्षमा कुनै असर पार्दैन।”

प्रतिवेदनमा Deloitte ले यो पनि स्वीकार गरेको छ कि प्रतिवेदन तयार पार्ने क्रममा Azure OpenAI GPT-4o आधारित generative AI tool प्रयोग गरिएको थियो, जुन DEWR को Azure प्रणालीभित्र लाइसेन्स गरिएको थियो।

तर कम्पनीले AI नै गल्तीको कारण थियो कि होइन भन्ने प्रश्नमा टिप्पणी गर्न अस्वीकार गर्दै भनेको छ, “यो विषय ग्राहकसँग प्रत्यक्ष रूपमा समाधान गरिएको छ।