एआईको बढ्दो प्रभावले करिअरबारे पुनर्विचार गर्दै आधाभन्दा बढी अस्ट्रेलियन युवा

अस्ट्रेलियामा कृत्रिम बुद्धिमत्ता (AI) को तीव्र विस्तारसँगै युवाहरूमा रोजगारी र भविष्यको करिअरप्रति चिन्ता बढ्दै गएको एक नयाँ अध्ययनले देखाएको छ।

WORK180 ले गरेको अध्ययनअनुसार पछिल्लो १२ महिनामा ५८ प्रतिशत युवा अस्ट्रेलियनको करिअरसम्बन्धी निर्णयमा AI को बढ्दो प्रयोगले प्रभाव पारेको छ। त्यस्तै, ६२ प्रतिशत युवाले AI ले रोजगारीमा पार्न सक्ने असरप्रति चिन्ता व्यक्त गरेका छन्।

अध्ययनमा सहभागी केही युवाले AI का कारण भविष्यमा कुन क्षेत्रमा कति रोजगारी गुम्न सक्छ भन्ने अनिश्चितता प्रमुख चिन्ताको विषय बनेको बताएका छन्। विशेषगरी डिजाइन, कला तथा सिर्जनात्मक क्षेत्रमा AI प्रयोग बढ्दै जाँदा मानव श्रमिकको अवसर घट्न थालेको अनुभवसमेत सहभागीहरूले साझा गरेका छन्।

यो चिन्ता अस्ट्रेलियामा युवा बेरोजगारी दर उच्च रहेको समयमा सार्वजनिक भएको हो। Australian Bureau of Statistics (ABS) का अनुसार युवा बेरोजगारी दर १०.७ प्रतिशत रहेको छ, जुन राष्ट्रिय बेरोजगारी दरको दोब्बरभन्दा बढी हो।

WORK180 की प्रमुख कार्यकारी तथा सह-संस्थापक जेम्मा लोयडका अनुसार अस्ट्रेलिया अहिले ‘early career crisis’ तर्फ उन्मुख भइरहेको छ। प्रविधि र अर्थतन्त्रमा भइरहेको तीव्र परिवर्तनका कारण अध्ययन सकेपछि सहज रूपमा रोजगारीमा प्रवेश गर्ने परम्परागत बाटो कमजोर बन्दै गएको उनको भनाइ छ।

एकातिर युवाहरू भविष्यमा पर्याप्त रोजगारी नपाइने चिन्तामा छन् भने अर्कोतर्फ रोजगारदाताहरूले आवश्यक सीप भएका कर्मचारी पाउन कठिन भइरहेको बताइरहेका छन्। यसले शिक्षा, सीप विकास र रोजगारीबीचको सम्बन्धमा नयाँ चुनौती देखाएको अध्ययनले औंल्याएको छ।

Advertisement