अष्ट्रेलियाली सरकारले आप्रवासन प्रणालीमा थप कडाइ गर्दै International Students, Temporary Visa Holders र भिसाको अवधि सकिएपछि पनि देशमै बसिरहेका व्यक्तिलाई लक्षित गरी नयाँ व्यवस्था अघि बढाएको छ।
गृहमन्त्री Tony Burke ले बिहीबार National Press Club मा सरकारको नयाँ Migration Plan सार्वजनिक गर्दै बढ्दो आवास दबाब र आप्रवासन प्रणालीको दुरुपयोग नियन्त्रण गर्न विभिन्न नियम परिवर्तन गरिने बताएका हुन्।
नयाँ व्यवस्थाअन्तर्गत अधिकांश International Students ले आफ्ना श्रीमान् वा श्रीमती तथा सन्तानलाई dependent का रूपमा Student Visa मा समावेश गरेर अष्ट्रेलिया ल्याउन पाउने व्यवस्था सीमित गरिनेछ। तर परिवार पहिले नै भिसामा समावेश भएर अष्ट्रेलियामा रहेका व्यक्तिलाई भने यसले असर नगर्ने सरकारले स्पष्ट पारेको छ।
Pacific तथा South-East Asian देशका नागरिक र PhD जस्ता निश्चित उच्च तहका course अध्ययन गर्ने विद्यार्थीका लागि भने विशेष छुट रहनेछ। नेपाल यी क्षेत्रअन्तर्गत नपर्ने भएकाले प्रस्तावित परिवर्तनले नयाँ आउने धेरै नेपाली विद्यार्थीलाई समेत असर पार्न सक्ने देखिन्छ।
सरकारले विद्यार्थीबीच देखिएको visa hopping रोक्न पनि नियम कडा बनाउने भएको छ। Course परिवर्तन गर्न चाहने विद्यार्थीले नयाँ Student Visa का लागि आवेदन दिनुपर्नेछ भने एउटा course पूरा गरेपछि अर्को अध्ययन गर्न चाहने विद्यार्थीले सामान्यतया अघिल्लोभन्दा उच्च qualification तर्फ जानुपर्ने व्यवस्था ल्याइनेछ।
त्यस्तै, Visitor Visa मा सामान्यतया “No Further Stay” condition राख्ने तयारी गरिएको छ। यसले Visitor Visa मा अष्ट्रेलिया आएर देशभित्रै अर्को भिसाका लागि आवेदन दिँदै बसाइ लम्ब्याउने प्रक्रियालाई सीमित गर्नेछ।
भिसाको अवधि सकिएपछि पनि अष्ट्रेलियामै बसिरहेका व्यक्तिमाथि निगरानी र कारबाही बढाउन सरकारले थप १०० जना compliance officers र २५० वटा detention beds थप्ने जनाएको छ।
सरकारले चालु आर्थिक वर्षमा Net Overseas Migration लाई 245,000 र त्यसपछिको आर्थिक वर्षमा 225,000 मा झार्ने लक्ष्य राखेको छ। मार्च २०२६ सम्मको एक वर्षमा अष्ट्रेलियाको Net Overseas Migration 292,100 रहेको थियो।
सरकारले नयाँ कदमलाई Migration system थप व्यवस्थित बनाउने उपायका रूपमा प्रस्तुत गरेको छ। यता विश्वविद्यालय र International Education क्षेत्रका प्रतिनिधिहरूले भने परिवार ल्याउन पाउने व्यवस्थामा हुने कडाइले अष्ट्रेलियालाई अन्तर्राष्ट्रिय विद्यार्थीका लागि कम आकर्षक बनाउन सक्ने चिन्ता व्यक्त गरेका छन्।





