ईस्टर बिदामा डबल डिमेरिट लागू: कुन राज्यमा कडा नियम, कहाँ छैन लागू?

अष्ट्रेलियामा ईस्टर बिदाको अवसरमा धेरै मानिसहरूले सडक यात्रा (रोड ट्रिप) को योजना बनाइरहेका बेला ट्राफिक नियम उल्लंघनमा कडा कारबाही हुने भएको छ। विभिन्न राज्य तथा क्षेत्रहरूमा “डबल डिमेरिट” प्रणाली लागू हुने भएकाले चालकहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

कहाँ र कहिले लागू हुन्छ डबल डिमेरिट?
NSW, ACT र पश्चिमी अष्ट्रेलिया (WA) मा अप्रिल २ (बिहीबार) देखि अप्रिल ६ (सोमबार) सम्म लगातार पाँच दिन डबल डिमेरिट लागू हुनेछ। यस अवधिमा ट्राफिक नियम उल्लंघन गर्दा लाग्ने डिमेरिट पोइन्ट दोब्बर हुनेछन्, यद्यपि जरिवाना रकम भने यथावत रहनेछ।

डबल डिमेरिट विशेष गरी स्पिडिङ, मदिरा वा लागुऔषध सेवन गरी सवारी चलाउने, सिटबेल्ट नलगाउने, मोबाइल प्रयोग गर्ने जस्ता सामान्य तर गम्भीर उल्लंघनहरूमा लागू हुन्छ। WA मा ट्राफिक सिग्नल उल्लंघन (रेड लाइट क्रस गर्ने) मा समेत डबल डिमेरिट लाग्ने व्यवस्था छ।

त्यस्तै, अप्रिल अन्त्यमा ANZAC Day लामो बिदाका अवसरमा पनि पुनः डबल डिमेरिट अवधि लागू हुने छ, जुन अप्रिल २४ देखि २७ सम्म रहनेछ।

क्वीन्सल्याण्डको फरक व्यवस्था
क्वीन्सल्याण्डमा अन्य राज्यहरू जस्तो छुट्टै “डबल डिमेरिट अवधि” हुँदैन। यहाँ वर्षभर नै निश्चित गम्भीर उल्लंघन दोहोरिएमा डबल डिमेरिट लागू हुन्छ। उदाहरणका लागि, २० किमी/घण्टाभन्दा बढी स्पिडिङ वा मोबाइल प्रयोग जस्ता उल्लंघन दोहोरिएमा कडा कारबाही गरिन्छ।

कुन राज्यमा लागू हुँदैन?
दक्षिण अष्ट्रेलिया (SA), उत्तरी क्षेत्र (NT), भिक्टोरिया (VIC) र तस्मानिया (TAS) मा भने कुनै पनि समयमा, चाहे लामो बिदा नै किन नहोस्, डबल डिमेरिट प्रणाली लागू हुँदैन।

सतर्कता अपनाउन आग्रह
डबल डिमेरिट लागू नभएका क्षेत्रहरूमा पनि सडकहरू व्यस्त हुने भएकाले सुरक्षित सवारी सञ्चालन गर्न सम्बन्धित निकायहरूले सबै चालकलाई आग्रह गरेका छन्।

ईस्टर बिदामा यात्रा गर्दा नियम पालना नगरेमा सवारी अनुमतिपत्रमा पर्ने असर दीर्घकालीन हुन सक्ने भएकाले सचेत र जिम्मेवार भएर सवारी चलाउनुपर्ने आवश्यकता रहेको छ।

Advertisement