जिमेल खाताको स्टोरेज भरिएको छ ? समस्या समाधान गर्न यसो गर्नुहोस् !

जिमेलले प्रयोगकर्ताहरूलाई फाइल, फोटो र अन्य दस्तावेजहरू सुरक्षित राख्नका लागि १५ जीबीको निशुल्क भण्डारण उपलब्ध गराउँछ । तर, यो सीमित भण्डारण कहिले काहीँ धेरै प्रयोगकर्ताहरूका लागि अपुग हुन सक्छ । यस्ता अवस्थामा, थप स्टोरेज किनेर समस्या समाधान गर्न सकिन्छ । तर, स्टोरेज किन्न नचाहने प्रयोगकर्ताहरूले उपलब्ध भण्डारणलाई व्यवस्थित गरेर स्टोरेज खाली गर्न सक्छन् ।

१. नपढिएका इमेलहरू मेटाउनुहोस्
जिमेलमा धेरैजसो इमेलहरू नपढिएका हुन सक्छन्, जसले अनावश्यक रूपमा भण्डारण खपत गर्छ । यसलाई व्यवस्थापन गर्न, इनबक्समा गएर सर्च बारमा ‘is:unread’ टाइप गर्नुहोस् । यसले तपाईंले कहिल्यै नपढेको सबै इमेल देखाउँछ । तिनीहरूलाई चयन गरेर मेटाउँदा भण्डारण खाली गर्न मद्दत हुनेछ ।

२. पुराना र काम नलाग्ने इमेल हटाउनुहोस्
पुराना र अब आवश्यक नभएका इमेलहरू जिमेलको भण्डारण खपत गर्ने अर्को कारण हुन् । इनबक्समा रहेका पुराना मेलहरू सर्च गरेर हटाउन सकिन्छ । उदाहरणका लागि, ‘older_than:1y’ टाइप गरेपछि एक वर्षभन्दा पुराना मेलहरू देख्न सकिन्छ । तिनीहरूलाई हटाएर भण्डारणमा ठाउँ बनाउन सकिन्छ ।

३. ठूला साइजका इमेलहरू मेटाउनुहोस्
फाइल वा फोटो जस्ता ठूला संलग्नक (एटाच्मेन्ट) भएका इमेलहरूले पनि भण्डारण छिटो भरिन्छ । यस्ता ठूला इमेल मेटाउन इनबक्समा गएर सर्च बारमा ‘larger:10M’ जस्ता सर्त टाइप गर्न सकिन्छ, जसले १० एमबीभन्दा ठूला इमेलहरू देखाउँछ । तपाईंले तिनीहरूलाई चयन गरेर हटाउन सक्नुहुन्छ ।

४. स्पाम र ट्र्यास सफा गर्नुहोस्
स्पाम फोल्डर र ट्र्यासमा रहेका इमेलहरूले पनि भण्डारण उपयोग गर्छन् । नियमित रूपमा यी फोल्डर सफा गरेर पनि ठाउँ खाली गर्न सकिन्छ ।

५. गूगल ड्राइभ र फोटोलाई व्यवस्थापन गर्नुहोस्
जिमेलको १५ जीबी भण्डारणमा गूगल ड्राइभ र गूगल फोटोज पनि सामेल हुन्छन् । यसैले, जिमेलसँगै अन्य सेवाहरूमा रहेका अनावश्यक फाइलहरू हटाएर थप ठाउँ बनाउन सकिन्छ ।

यस्ता सरल उपायहरू अपनाएर जिमेलको सीमित भण्डारणलाई अधिक प्रभावकारी रूपमा उपयोग गर्न सकिन्छ । यदि यस्ता उपायले पनि स्टोरेज अपुग भएमा, गूगलले विभिन्न योजनाहरू अन्तर्गत थप भण्डारण किन्न सकिने विकल्प उपलब्ध गराएको छ ।