भारतीय लोकप्रिय स्टारहरूको सूचीमा तृप्ति डिमरीको नाम सबैभन्दा अगाडि

आईएमडीबीले भारतका सबैभन्दा लोकप्रिय फिल्म स्टारहरूको सूची सार्वजनिक गरेको छ, जसमा तृप्ति डिमरी शीर्ष स्थानमा रहेकी छिन्। उनले शाहरुख खान, दीपिका पादुकोण, र आलिया भट्टजस्ता चर्चित कलाकारहरूलाई पछि पार्दै पहिलो स्थान हासिल गरेकी हुन्।

सूचीमा दोस्रो स्थानमा दीपिका पादुकोण, तेस्रोमा ईशान खट्टर, चौथोमा शाहरुख खान, र नवौँ स्थानमा आलिया भट्ट परेका छन्। ऐश्वर्या राय सातौँ स्थानमा रहँदा सामन्था रुथ प्रभु आठौँ र प्रभास दशौँ स्थानमा रहेका छन्।

यो उपलब्धिलाई तृप्तिले व्यक्तिगत रूपमा धेरै महत्वपूर्ण मान्दै आईएमडीबीप्रति आभार व्यक्त गरेकी छिन्। उनले इन्स्टाग्राममा पोस्ट गर्दै लेखेकी छिन्, “यो मेरो लागि निकै विशेष क्षण हो। यो वर्ष अद्भुत रह्यो। यस सम्मानका लागि आईएमडीबी र मलाई साथ दिएका सबैलाई धन्यवाद। यो अनुभव अविस्मरणीय छ, र अझ धेरै उपलब्धिहरू आउन बाँकी छन्।”

तृप्ति डिमरी आफ्नो फिल्मी करियरमा “लैला मजनु” र “एनिमल” जस्ता चलचित्रहरूबाट चर्चित छिन्। उनले “लैला मजनु” मा अविनाश तिवारीसँग काम गरेकी थिइन् भने “एनिमल” मा रणवीर कपूरसँग अभिनय गरेर प्रशंसा प्राप्त गरेकी थिइन्।

हालै तृप्ति “विक्की विद्या का वो भिडियो” र “भूल भुलैया ३” जस्ता प्रोजेक्टहरूमा देखिएकी छिन्, जसले उनको करियरलाई थप उचाइ दिएको छ।