काठमाडौं प्रोपर्टीज कप फुटसल प्रतियोगिता डिसेम्बर १५ मा भिक्टोरियामा आयोजना हुने

भिक्टोरियाको नेपाली समुदायमा खेलकुदको महत्व बढाउँदै क्रेगीबर्न ब्रिगेड स्पोर्टस क्लब ले डिसेम्बर १५, २०२४ मा काठमाडौं प्रोपर्टीज कप फाईभ ए साइड फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगितामा १६ टिमले खुला समूहमा प्रतिस्पर्धा गर्नेछन् भने ३५ वर्षमाथिको समूहमा ८ टिमले सहभागिता जनाउनेछन्।

प्रतियोगिताको मुख्य प्रायोजक काठमाडौं प्रोपर्टीज रहेको छ भने ३५ वर्षमाथिको समूहका लागि आयोजना हुने एभरेष्ट होम लोन्स लिजेन्ड्स कप को प्रायोजक एभरेष्ट होम लोन्स रहनेछ। क्रेगीबर्न ब्रिगेड स्पोर्टस क्लबका माधव पौडेलका अनुसार प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा टिमहरूलाई बेस्ट प्लेयर, बेस्ट गोलकिपर, हाई स्कोरर र फेयर प्ले टिम अवार्ड प्रदान गरिनेछ।

प्रतियोगिता भिक्टोरियाको ह्वीटन ओभल, फुटस्क्रे वेस्ट मा बिहान ८ बजेदेखि सुरु हुनेछ। हरेक टिमले अधिकतम १० खेलाडी दर्ता गर्न पाउनेछन्। खेलको नियमअनुसार ५ खेलाडी मैदानमा रहनेछन् भने अन्य ५ खेलाडीलाई प्रतिस्थापन गर्न सकिनेछ।

खुला समूहतर्फ क्रेगीबर्न ब्रिगेड स्पोर्टस क्लब रेड, ग्रीन, युनाइटेड फुटबल क्लब पहेंलो, सुन्तला, एभरेष्ट युनाइटेड फुटबल क्लब, नर्थ पिक फुटबल क्लब, ईपिंग उलर्ट फुटबल क्लब, हिमालयन फुटबल क्लब, हिमालयन टाईगर्स, कालीका फुटबल क्लब, चन्द्रसूर्य फुटबल क्लब, रोयल वेस्टर्न क्लब, रोयल फुटबल क्लब रेड, ब्लू, यति फुटबल क्लब रेड र ब्लू गरी १६ टिमले प्रतिस्पर्धा गर्नेछन्।

त्यस्तै, लिजेन्ड्स कपतर्फ क्रेगीबर्न ब्रिगेड स्पोर्टस क्लब ग्रीन, ह्वाइट, यति फुटबल क्लब, युनाइटेड फुटबल क्लब, रोयल वेस्टर्न क्लब, हिमालयन फुटबल क्लब, नेपसिटी ब्वाइज र नेप्लीज नेबरहुड कम्युनिटी टाईगर्स गरी ८ टिम सहभागी हुनेछन्।

यो प्रतियोगिताले खेलकुदमार्फत नेपाली समुदायलाई थप एकजुट बनाउने र नयाँ प्रतिभालाई अघि बढाउने अवसर प्रदान गर्ने विश्वास गरिएको छ।