निर्देशक दिवाकर भट्टराईको फिल्म ‘मायाबी’को प्रदर्शन मिति परिवर्तन भएको छ। यो फिल्म पहिल्यै पौषको २६ गते रिलिज हुने भनिएको थियो, तर अब यो फिल्म महाशिवरात्रिको अवसरमा फागुनको १४ गतेबाट दर्शकमाझ आउनेछ।
फिल्मको निर्माण टिमले नयाँ प्रदर्शन मिति सार्वजनिक गर्दै फिल्मको नयाँ पोस्टर पनि जारी गरेको छ। पोस्टरमा नायक पल शाह र नायिका दीपिका प्रसाँईको रोमाञ्चक केमेस्ट्री देख्न सकिन्छ। पल शाहको भावुक गेटअपले फिल्मको रोमान्स र विछोडको कथालाई उजागर गरेको छ।
यो फिल्ममा अभिनेता सुशील सिटौला, करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, समिम खान लगायतका चर्चित कलाकारहरूको अभिनय रहेको छ। फिल्मको कथा र लेखन पनि दिवाकर भट्टराईको छ।
निर्माणपक्षमा ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्त रहेका छन् भने मञ्जु भण्डारी, राजु पराजुली र सुमित ओली सह-निर्माताको रूपमा काम गरिरहेका छन्। प्रवीण भट्टराई र करण सिंह कार्यकारी निर्माताका रूपमा संलग्न छन्।






