यात्राका लागि अष्ट्रेलिया विश्वको सुरक्षित देशका सूचीमा दोस्रो स्थानमा

सन् २०२५ का लागि सुरक्षित यात्रा गन्तव्यहरूको सूचीमा अष्ट्रेलिया दोस्रो स्थानमा परेको छ। ‘बर्कशायर ह्याथवे ट्राभल प्रोटेक्सन’ (BHTP) ले सार्वजनिक गरेको प्रतिवेदनमा आइसल्यान्डलाई पहिलो र क्यानाडालाई तेस्रो स्थानमा राखिएको छ।

यो प्रतिवेदन तयार पार्दा विभिन्न देशहरूको समग्र सुरक्षा अवस्थालाई आधार मानिएको छ जस्तै कम अपराध दर भएका देशहरू, आतंकवादको न्यून जोखिम, स्वास्थ्य सेवाको उपलब्धता, र रोग तथा महामारीको नियन्त्रणलाई प्राथमिकता दिइएको थियो। साथै, यात्रुहरूका लागि समावेशी वातावरणको सुनिश्चितता, विशेषगरी रंगभेद र LGBTQIA+ समुदायप्रतिको सुरक्षाको अवस्था, मूल्याङ्कनको मुख्य मापदण्डमा समावेश गरिएका थिए।

सूची बनाउने क्रममा ग्लोबल पीस इन्डेक्स, नुम्बोको तथ्याङ्क र प्रत्येक देशका प्रमुख शहरहरुको अवस्था पनि अध्ययन गरिएको जनाइएको छ।

आइसल्यान्डले आफ्नो शान्त वातावरण र अपराधमुक्त समाजका कारण पहिलो स्थान हासिल गरेको छ। अष्ट्रेलिया भने प्राकृतिक विविधता, उच्चस्तरीय स्वास्थ्य सेवा, र समग्र सुरक्षाका कारण दोस्रो स्थानमा परेको हो। क्यानाडा भने सांस्कृतिक सहिष्णुताका साथै सुरक्षित वातावरणका कारण तेस्रो स्थानमा पर्‍यो।

यो प्रतिवेदनअनुसार स्विट्जरल्याण्ड पाँचौँ र न्युजिल्यान्ड छैटौँ स्थानमा छन्। सुरक्षित गन्तव्यको सूचीले यात्रुहरूलाई सही गन्तव्य छनोट गर्न सहयोग गर्ने विश्वास गरिएको छ। साथै, यो प्रतिवेदनले विभिन्न देशहरूको सुरक्षात्मक प्रयासलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।