काठमाडौँ । विपिन कार्की र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘ऊनको स्वीटर’ आगामी नयाँ वर्षको वैशाख २६ गतेदेखि प्रदर्शनमा आउने भएको छ। निर्माण टोलीले हालै सार्वजनिक गरेको पोस्टरमार्फत प्रदर्शन मिति घोषणा गरिएको हो।
पोस्टरमा विपिन कार्की डोको बोकेर हातमा डायरी समातेको देखिन्छन्, भने मिरुना मगर मन्द मुस्कानका साथ प्रस्तुत छिन्। ‘ऊनको स्वीटर’ शीर्षकलाई ऊनको धागोले तयार गरिएको आकर्षक डिजाइनमा प्रस्तुत गरिएको छ।
फिल्ममा विपिन र मिरुनासँगै सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बु, सुरज तमू, शारदा देवी सिलवाल, भावना खपाङ्गी मगरलगायतका कलाकारहरूको अभिनय रहेको छ।
नवीन चौहानको निर्देशनमा बनेको यो फिल्म **आर्टमाण्डू प्रा.लि.**ले निर्माण गरेको हो। निर्देशनसँगै चौहानले फिल्मको कथा लेखेका छन्। पाँचथर र नेपाल-भारत सीमा फालेलुङमा छायाङ्कन गरिएको यो फिल्मको छायाङ्कन चिन्तन राजभण्डारीले गरेका हुन् भने सम्पादन कृष्ण भण्डारीले गरेका छन्।
सागर बुढाथोकी र मिलन खत्री कार्यकारी निर्माताका रूपमा रहेका यस फिल्मको वितरण काफिया फिल्म्स प्रा.लि. र कुबेर सिने डिस्ट्रीब्युसनले गर्नेछन्।






