सन् २०२१ को सुपरहिट तेलुगु फिल्म ‘पुष्पा’ को बहुप्रतीक्षित सिक्वेल ‘पुष्पा २’ यही मंसिर २० गते (डिसेम्बर ५) बाट विश्वभर प्रदर्शनमा आउँदैछ। आइतबार भारतको पटनास्थित ऐतिहासिक गान्धी मैदानमा आयोजित भव्य समारोहका बीच फिल्मको ट्रेलर सार्वजनिक गरियो। करिब २ मिनेट ४८ सेकेन्ड लामो यस ट्रेलरले दर्शकलाई भरपुर मनोरञ्जन र रोमाञ्चकता प्रदान गरेको छ।
ट्रेलरमा अभिनेता अल्लू अर्जुनको दमदार अभिनयलाई विशेष प्राथमिकता दिइएको छ। रक्तचन्दन काठको अवैध व्यापारमार्फत आफ्नो साम्राज्य खडा गरेका पात्र पुष्पराज (अल्लू अर्जुन) र प्रहरी अधिकारी (फहाद फासिल) बीचको संघर्षलाई ट्रेलरले उत्कृष्ट रूपमा प्रस्तुत गरेको छ। अल्लूको स्टाइलिश लुक्स, आकर्षक डाइलग, र जबर्जस्त एक्सनले ट्रेलरलाई झन् प्रभावशाली बनाएको छ।
सुकुमारको निर्देशनमा बनेको यस फिल्ममा अल्लू अर्जुन, फहाद फासिल, रश्मिका मन्दाना, सुनिल बर्मा, धनन्जय, जगपति बाबू, र अनसुया भारद्वाजलगायत कलाकारहरूको दमदार उपस्थिति छ। करिब ५ सय करोड भारुमा निर्माण भएको यस फिल्मले प्रदर्शन अगावै विभिन्न राइट्सबाट लगानी सुरक्षित गरिसकेको छ। ‘पुष्पा २’ ले विश्वभर १५ सय करोड भारु कमाइ गर्ने प्रक्षेपण गरिएको छ।
पटनामा आयोजित ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेता अल्लू अर्जुन र अभिनेत्री रश्मिका मन्दाना सहभागी भएका थिए। कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था गरिएको थियो, जसमा करिब ३ लाख दर्शकको सहभागिता रहेको भारतीय मिडियाले जनाएको छ।
ट्रेलर रिलिजका लागि बिहार रोज्नु निर्माताहरूको रणनीतिक कदम मानिएको छ। भोजपुरी र हिन्दी फिल्मको मुख्य बजारलाई लक्षित गर्दै यो ट्रेलर सार्वजनिक गरिएको हो, जसले हिन्दी भाषी दर्शकहरूलाई आकर्षित गर्ने प्रयास गरेको छ। ‘पुष्पा २’ को प्रदर्शन अगाडि नै यसको चर्चाले दर्शकमाझ उच्च जिज्ञासा र उत्साह सिर्जना गरेको छ।