मेलबर्न: भिक्टोरिया सरकारले सार्वजनिक स्थानहरूमा स्यानिटरी प्याड र ट्याम्पोन निःशुल्क उपलब्ध गराउने पहल तयारी गरेको छ। यो कार्यक्रमले सबैलाई अत्यावश्यक मासिक सामग्रीमा सहज पहुँच सुनिश्चित गर्दै समानताको प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।
यस पहलअन्तर्गत सुरुवाती चरणमा मेलबर्नका ३० सार्वजनिक स्थानहरू, जस्तै पुस्तकालय र अस्पतालहरूमा महिलाका लागि पहुँचयोग्य बाथरूमहरूमा ५० भेन्डिङ मेसिन जडान गरिनेछ। आगामी वर्षमा यो योजना राज्यभरका ७०० स्थानसम्म विस्तार गरिनेछ, जसमा रेल स्टेशन, अदालत, टीएएफई (प्राविधिक र थप शिक्षा केन्द्र), र अन्य सार्वजनिक स्थानहरू समावेश हुनेछन्।
यस कार्यक्रमलाई कार्यान्वयन गर्न सरकारले Affinity Outdoor नामक संस्थासँग साझेदारी गरेको छ।
भिक्टोरियाकी प्रिमियर जसिन्ता एलनले मासिक सामग्रीको महत्त्व औंल्याउँदै भनिन्, “स्यानिटरी प्याड र ट्याम्पोन आवश्यक वस्तु हुन् र मानिसहरूले जहाँ र जहिले पनि आवश्यक परेमा पाउनुपर्छ।” महिला मामिला मन्त्री नताली हचिन्सले यो योजनाले महिलाको लागत घटाउनुका साथै उनीहरूको सम्मान सुनिश्चित गर्ने बताइन्।
Affinity Outdoor की प्रमुख कार्यकारी अधिकृत मिशेल डेभिसले यो पहललाई “हाम्रो समाजमा समानता प्राप्त गर्नतर्फको महत्वपूर्ण कदम” भनेकी छिन्।
भिक्टोरिया सरकारले यसअघि सार्वजनिक विद्यालयहरूमा निःशुल्क स्यानिटरी प्याड र ट्याम्पोन उपलब्ध गराइसकेको थियो। अब यसलाई सार्वजनिक स्थानहरूमा विस्तार गर्दै period poverty लाई सम्बोधन गर्न र समुदायको स्वास्थ्य र हितलाई सुदृढ गर्न अग्रसर भएको हो।