सिड्नीमा २२ नोभेम्बरबाट सुरु हुँदै ‘ज्वाइँ साब’को डायस्पोरा प्रदर्शन

सिड्नी, अस्ट्रेलिया – दशैंको अवसरमा नेपालमा रिलिज भएको फिल्म ‘ज्वाइँ साब’ले अब अन्तर्राष्ट्रिय प्रदर्शन सुरु गर्ने भएको छ। यो फिल्म २२ नोभेम्बरमा सिड्नीको हर्स्टभिलस्थित सिभिक थियटरमा प्रदर्शन हुनेछ। फिल्मको प्रदर्शनको व्यवस्थापन पाल्पा इन्टरटेनमेन्टले गरेको छ।

बसन्त निरौलाको निर्देशनमा बनेको यो फिल्मले नेपालमा औसत व्यापार गरेको थियो। सामाजिक सञ्जालमा फिल्मले पाएको सकारात्मक प्रतिक्रिया र दर्शकहरूको मागलाई ध्यानमा राख्दै सिड्नीबाट प्रदर्शन आरम्भ गर्न लागिएको हो।

फिल्मको मुख्य भूमिकामा चर्चित कलाकार जितु नेपाल रहेका छन्। साथै, फिल्ममा नीति शाह, बुद्धि तामाङ, हिमेश पन्तलगायतका कलाकारहरूको अभिनय छ। सिड्नीमा प्रदर्शनपछि फिल्म अन्य अस्ट्रेलियन सहरहरूमा पनि प्रदर्शन गरिने योजना छ।

‘ज्वाइँ साब’ले परिवारका सदस्यहरूबीचको सम्बन्ध र हास्य-व्यंग्यलाई मुख्य कथावस्तुमा प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन प्रदान गर्ने लक्ष्य राखेको छ।