काठमाडौं । यस वर्षको सुपरहिट फिल्म ‘छक्कापञ्जा ५’ को गीत ‘बिहे भा’को छैन’ले सोमबारसम्म युट्युबमा १ करोडभन्दा बढी भ्यूज पाएको छ। तिहारको अवसरमा फिल्मले राम्रो कमाइ गरिरहँदा यस गीतले पनि उल्लेखनीय सफलता हासिल गरेको हो।
दीपकराज गिरी र दीपक शर्माले लेखेको र संगीतबद्ध यो गीतमा सविन सुवेदी र बेनिशा पौडेलको आवाज समावेश छ। करिब दुई महिना अघि रिलिज भएको यो गीतले दर्शकहरूबाट राम्रो प्रतिक्रिया प्राप्त गर्दै लोकप्रियताको शिखरमा पुगेको छ।
गीतले करोड भ्यूज पार गरेको अवसरमा अभिनेता तथा गीतकार दीपकराज गिरीले फेसबुकमार्फत खुसी व्यक्त गरेका छन्। उनले लेखेका छन्, “बिहान उठ्ने बित्तिकै ‘छक्कापञ्जा ५’ को अर्को गीतले पनि १ करोड भ्यूज पार गरेको देख्दा गर्व लागेको छ। दर्शकले हाम्रो गीत र फिल्मलाई निरन्तर माया गर्दै आएका छन्, जसले हाम्रो सकारात्मक प्रयासलाई अझ बलियो बनाएको छ।”

संगीतकार दीपक शर्मा र निर्देशक दीपाश्री निरौलाले पनि सामाजिक सञ्जालमा यो उपलब्धिमा खुशी प्रकट गरेका छन्। यसअघि फिल्मको ‘ब्रेकअप सङ’ लाई २ करोड ४१ लाख पटक हेरिएको छ भने यसै साता ‘यो माया बनाउने को हो’ नामक अर्को गीत सार्वजनिक भएको छ, जसले पनि दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ।





