पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित चार जनालाई सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँदैछ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी बसन्तकुमार शर्माका अनुसार लामिछानेसहित गोर्खा मिडियाका पूर्व सञ्चालक छवि लामिछाने, सूर्यदर्शन सहकारीको रकम दुरुपयोगमा संलग्न भएको आरोपमा जीवी राईसँग जोडिएका लिला पछाईं, र नेचर हर्ब्सका रामबहादुरलाई अदालतमा पेश गरिन लागेको हो।
तिहार बिदाको समयमा हिरासत म्याद सकिएकाले थप अनुसन्धानका लागि अदालतमा म्याद थप गर्नुपर्ने कारणले उनीहरूलाई आज अदालतमा उपस्थित गराइएको हो।

यसैबीच, रवि लामिछानेको पक्राउलाई राजनीतिक प्रतिशोध भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पोखरामा विरोध प्रदर्शनको तयारी गरेको छ। लामिछानेको समर्थनमा आज रास्वपाले पोखराको जिरोकिलोमिटर क्षेत्रमा प्रदर्शन गर्ने जनाएको छ।
गएको कात्तिक २ गते साँझ काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ परेका लामिछाने र अन्यमाथि सहकारीको रकम दुरुपयोग र संगठित अपराधमा संलग्न रहेको आरोपमा मुद्दा दर्ता गरिएको छ। गोर्खा मिडियामार्फत सहकारीको रकम हिनामिना भएको र दुई वा दुईभन्दा बढी व्यक्तिको समूह बनाएर रकम दुरुपयोग गरेको अभियोगमा उनीहरूविरुद्ध कानूनी प्रक्रिया अघि बढाइएको छ।





