विहानको ताजगीका लागि धेरैले उठ्ने बित्तिकै चिया पिउने गर्छन्। चिया प्रेमीहरूले दिनमा ४ देखि ५ कपसम्म चिया पिउने गरेको पाइन्छ। पछिल्लो समय, सामाजिक सञ्जालमा चियाको बढ्दो चर्चा र ‘स्टेटस सिम्बल’ को रुपमा बढ्दो लोकप्रियतासँगै चियाको लतलाई पनि प्रोत्साहन मिलेको छ। विज्ञहरूका अनुसार, यो बानी स्वास्थ्यका दृष्टिकोणले घातक साबित हुन सक्छ।
स्वास्थ्य विज्ञहरूले खाली पेटमा चिया पिउनु स्वास्थ्यका लागि हानिकारक भएको जनाएका छन्। अध्ययनहरू अनुसार, खाली पेटमा चिया पिउँदा एसिडिटी बढ्न सक्छ, जसले दीर्घकालीन रूपमा ग्यास्ट्रिक, अल्सर र क्यान्सर जस्ता रोग निम्त्याउने जोखिम बढाउँछ। खाली पेटमा चिया सेवन गर्दा शरीरमा एसिडिटीको मात्रा असन्तुलित हुन्छ, त्यसैले चियासँग सधैँ थोरै भए पनि खानपिन गर्न सल्लाह दिइन्छ।

अर्कोतर्फ, खाना खाएको तुरुन्तै चिया पिउनु पनि स्वास्थ्यका लागि हानिकारक साबित हुन सक्छ। विशेषज्ञहरू भन्छन्, खाना खाइसकेपछि शरीरलाई पोषक तत्व पचाउन समय लाग्छ। खाना खाएपछि चिया पिउँदा पाचन प्रक्रिया सुस्त हुन्छ र यसले शरीरमा पोषक तत्वको सोखाइ कम गराउन सक्छ। फलस्वरूप, लामो समयसम्म यस्तो बानीले मधुमेह, मोटोपना, र हड्डीसम्बन्धी समस्याहरू निम्त्याउन सक्छ।
चिया पिउनु स्वास्थ्यको लागि जोखिमपूर्ण हुने अन्य कारणहरूमध्ये धेरै चिया पत्ती हालेर वा अत्यधिक पकाएर बनाइएको कडा चिया पनि एसिडिटी बढाउने कारण बन्छ । यसले गर्दा छालामा एलर्जी, अनिद्रा र पाचन प्रणालीमा विभिन्न समस्याहरू देखिन सक्छ। चिकित्सकहरूका अनुसार, बारम्बार तताइएको वा कडा चिया पिउँदा शरीरमा हानिकारक तत्वहरू जम्मा हुने हुँदा यो बानी हटाउन सुझाव दिइन्छ।





