रविलाई तिहारलगत्तै बुटवल लगिने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न बुटवल लैजाने तयारी गरिएको छ। कास्की जिल्ला अदालतले हिरासत म्याद बुधबार सकिएपछि उनलाई बयानका लागि बुटवल लैजान लागिएको हो।

कास्की जिल्ला अदालतले हिरासत म्याद बुधबार सकिएपछि बिहीबारदेखि अदालत बन्द भएकाले लामिछानेलाई बुटवल पठाउन तयारी गरिएको प्रहरीले जनाएको छ। अदालत पुनः खुलेपछि प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराउनेछ।

लामिछानेलाई सूर्यदर्शन सहकारी ठगी आरोपमा काठमाडौंबाट पक्राउ गरी कास्की लगिएको थियो। कास्की प्रहरीका अनुसार, बयानको पहिलो चरण पूरा भइसकेको छ, जसअनुसार अब उनलाई सुप्रिम सहकारी ठगी प्रकरणमा थप अनुसन्धानका लागि बुटवल पठाइनेछ। लामिछानेले आफ्नो बयानमा सहकारीको रकम अपचलनमा आफ्नो संलग्नता अस्वीकार गरेका छन्, र यसबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन्। सहकारीको आर्थिक व्यवस्थापनमा आफूको कुनै भूमिका नरहेको र आफ्नो नाम सहकारीमा संलग्न भए पनि हस्ताक्षर नगरेको उनले दाबी गरेका छन्। यसअघि कास्की प्रहरीले काठमाडौंमा उपस्थित गराइ प्रमाणित कागजात बुझाएको थियो।

यसअघि, छविलाल बन्जाडेलाई समेत सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि बुटवल पुर्‍याइएको थियो। बन्जाडेको बयान सकिएपछि पुनः उनलाई कास्की फर्काइएको छ। हाल रवि लामिछाने र छविलाल बन्जाडे दुवैजना कास्की प्रहरीको हिरासतमा छन्।

उक्त घटनामा संगठित अपराध, सम्पत्ति शुद्धीकरण र सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ। लामिछाने र बन्जाडेसहित १४ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीले पक्राउ अनुमति दिइसकेको छ। अनुसन्धानका लागि वीरगञ्जको सानो पाइला, चितवनको सहारा र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।सहकारीको रकम मिडियामा अपचलन भएको आरोपपछि सुरक्षाको मामलालाई ध्यानमा राख्दै अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ।