फ्रान्सको बोर्गोइन सहरमा एक अनौठो कानूनी मुद्दा चर्चामा आएको छ। स्थानीय फ्रान्क नामक व्यक्तिले पालेको कुखुरा ‘रिक्को’ले चर्को आवाजमा बासेर छिमेकीलाई सताएको भन्दै मुद्दा दायर भएको हो। पाँच वर्षको रिकोको आवाजका कारण छिमेकीलाई निद्रा नपर्ने, काममा ध्यान केन्द्रित गर्न कठिन हुने, र लगातार सुनिरहँदा दिक्क लाग्ने समस्या भएको भन्दै छिमेकीले फ्रान्कविरुद्ध कानूनी कारबाही अघि बढाएका छन्।
छिमेकीको गुनासोका आधारमा अदालतले आउँदो जनवरीमा यो मुद्दा सुनुवाइ गर्ने मिति तय गरेको छ। यो मुद्दामा फ्रान्क र उनकी पत्नीलाई अदालतमा उपस्थित भएर बयान दिनुपर्नेछ। नाम गोप्य राखेका ती छिमेकीले रिको दिनरात बास्ने गरेको र उसको आवाज अत्यन्तै अप्रिय हुने दाबी गरेका छन्।

तर, रिकोका मालिक फ्रान्कले छिमेकीको आरोप अस्वीकार गर्दै कुखुरा बिहान मात्र केही समय बास्ने गरेको स्पष्ट पारेका छन्। उनले कुखुराको खोरमा अटोमेटिक ढोका राखेको, जसले ठण्डी याममा बिहान ८ बजे र गर्मी याममा ९ बजे मात्र खोर खोल्ने र बेलुकी ८ बजे फेरि खोर बन्द गरिने बताएका छन्। उनले रिको बिहान करिब १५ पटक र दिनभरि केही पटक मात्रै बास्ने गरेको दाबी गरेका छन्, जसले खासै कुनै ठूलो समस्या नहुने तर्क पेश गरेका छन्।
फ्रान्क दम्पती २५ वर्षअघि शान्त र स्वच्छ वातावरणमा बस्न बोर्गोइन सरेका थिए। कुखुराका कारण कानूनी विवादमा तानिएपछि उनीहरूलाई तनाव उत्पन्न भएको छ। उनीहरूका अनुसार सुरुमा यस विवादलाई नगर परिषदको मध्यस्थताबाट मिलाउने प्रयास गरिएको थियो, तर छिमेकीले कुनै सम्झौतामा सहमत हुन मानेनन् र मुद्दा अदालतसम्म पुगेको हो।
फ्रान्कले अन्य छिमेकीहरूसँग यो विषयमा छलफल गर्दा कसैलाई पनि कुखुराको आवाजले समस्या नदिएको प्रतिक्रिया प्राप्त गरेको बताएका छन्। अब, अदालतको फैसला नै यस विवादको अन्तिम निर्णय बन्ने छ।





