काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, जसलाई नेपाली राजनीतिक व्यक्तित्वमा प्रायस् प्रशंसा गरिन्छ, एक तस्बिरका कारण आलोचनामा परेका छन् । उनले प्रसिद्ध आरोही निर्मल पुर्जालाई स्वागत गरेको तस्बिर सामाजिक सञ्जाल एक्समा साझा गरेपछि यो विवाद सुरु भएको हो ।
पुर्जा हालै इन्डोनेसियाको कार्सटेन्ज पिरामिड आरोहणबाट फर्किएका थिए र बालेनले उनलाई कीर्तिमानका लागि कार्यकक्षमा स्वागत गरेका थिए । तर, विवादको कारण भने पुर्जामाथि लागेको यौन दुर्व्यवहारको पुरानो आरोप थियो, जसको रिपोर्ट न्यूयोर्क टाइम्स र इन्डिपेन्डेन्टमा प्रकाशित भएको थियो ।
२०२३ मा पूर्व मिस फिनल्याण्ड लोता हिन्स्टाले पुर्जामाथि दुर्व्यवहारको आरोप लगाएकी थिइन् । अरू महिला आरोहीहरूले पनि पुर्जाले दुर्व्यवहार गरेको आरोप लगाएका थिए । यद्यपि पुर्जाले यी आरोपहरू अस्वीकार गर्दै आएका छन् ।

मेयर साहको पोस्टपछि सामाजिक सञ्जालमा उनलाई आलोचना गर्नेहरू बढेका छन् । कतिपयले उनलाई ‘यौन दुर्व्यवहार आरोपीलाई प्रोत्साहन गरेको’ भन्दै विरोध जनाएका छन् । केहीले मेयर साहलाई पुर्जाजस्तो विवादास्पद व्यक्तिलाई समर्थन नदिन सुझाव दिएका छन् ।
सामाजिक सञ्जालका अधिकांश प्रतिक्रियाले साहको यो कदम प्रति असन्तुष्टि जनाएपनि केहीले भने अदालतले आरोप प्रमाणित नगरेसम्म फरक नपर्ने तर्क गरेका छन् ।





