अस्ट्रेलियामा मुद्रास्फीति दर घट्दै, सेप्टेम्बर २०२४ मा २.८% ले वृद्धि

सेप्टेम्बर २०२४ सम्मको एक वर्षको अवधिमा अस्ट्रेलियाको मुद्रास्फीति दर २.८% मा झरेको छ, जसलाई अस्ट्रेलियन ब्यूरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले सार्वजनिक गरेको छ। गत त्रैमासिक अवधिमा वार्षिक मुद्रास्फीति दर ३.८% रहेको थियो, जसले यस अवधिमा मूल्य वृद्धिको गति केही सुस्ताएको संकेत गरेको छ।

एबीएसको पछिल्लो प्रतिवेदनले जुलाईदेखि सेप्टेम्बर २०२४ सम्म मूल्यमा ०.२% को वृद्धि भएको देखाउँछ। यसको अर्थ, जुलाईको तुलनामा सेप्टेम्बरमा दैनिक उपभोग्य वस्तु र सेवाको मूल्य औसतमा ०.२% ले मात्र बढेको हो। वार्षिक रूपमा भने, अस्ट्रेलियाको मूल्य वृद्धिको दरमा २०२२ डिसेम्बरको उच्च विन्दुबाट क्रमिक गिरावट देखिएको छ।

मुद्रास्फीति दर घटाउने क्रममा सरकारी पहलहरू मुख्य कारक रहेका एबीएसले जनाएको छ। जुलाईमा सङ्घीय र राज्य/प्रान्तीय सरकारहरूले विद्युत् बिलमा छुट योजना लागू गरेपछि मुद्रास्फीतिमा कमी आएको छ। साथै, यस अवधिमा इन्धनको मूल्यमा गिरावट आएको छ, जसलाई एबीएसले “वैश्विक मागमा कमी” भएको र तेलको मूल्य घटेको कारण बताएको छ।प्रतिवेदनले सबैभन्दा धेरै मूल्य वृद्धि मदिरा र सुर्तीजन्य पदार्थहरूमा देखाएको छ। यस श्रेणीमा वार्षिक मूल्य वृद्धि ६.७% रहेको छ, जुन मुख्य रूपमा सेप्टेम्बरमा सुर्तीजन्य पदार्थमा भएको कर वृद्धिले उत्प्रेरित गरेको हो।यो पछिल्लो प्रतिवेदनले अस्ट्रेलियाको आर्थिक अवस्थामा केही स्थिरता देखाएको छ भने मूल्य वृद्धिको सुस्त गति उपभोक्ताहरूका लागि राहतको सङ्केत बनेको छ।