नेपाल र बंगलादेशबीच आज साँझ ६ः३० बजे काठमाडौंको दशरथ रंगशालामा साफ महिला च्याम्पियनसिपको उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ। यस महत्वपूर्ण खेलको लागि टिकट बिक्री खुला भइसकेको छ, र नेपाली दर्शकको उच्च उत्साहका बीच नेपालको महिला टोली आफ्नो पहिलो साफ उपाधि जित्न उत्रिने तयारीमा छ।
सन् २०१० मा सुरु भएको साफ महिला च्याम्पियनसिपको सातौँ संस्करणमा नेपालले लगातार फाइनलमा स्थान बनाए पनि उपाधि जित्न सकेको छैन। यस पटक सेमिफाइनलमा पाँच पटकको च्याम्पियन भारतलाई ४–२ गोलले टाइब्रेकरमा हराउँदै फाइनलमा पुगेको नेपाली टोलीलाई उपाधि जित्न बंगलादेशलाई पराजित गर्नुपर्ने चुनौती छ। साबिक विजेता बंगलादेशसँग गत संस्करणको फाइनलमा नेपाल ३–१ ले पराजित भएको थियो, र यसपटक नेपाली टोली बदला लिन उत्सुक देखिएको छ।

नेपाली टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले टोलीको मनोबल उच्च रहेको र उपाधि जित्नेमा आफूहरु आशावादी रहेको बताइन्। उनले भनेकी छिन्, “हामी अहिले राम्रो खेलिरहेका छौँ र ‘हामी सक्छौँ, हामी जित्छौँ’ भन्ने नारा स्थापित गर्दै खेल्नेछौँ।” यो उपाधि जित्न अवसरलाई महत्त्वपूर्ण मान्दै सुब्बाले भनेकी छिन्, “नेपाली महिला फुटबलमा अहिलेको जस्तो खेलाडी पाउन अझै केही वर्ष लाग्नेछ। यस पटक उपाधि जित्न सबैले आफ्नो पोजिसनमा ध्यान दिएर खेल्नेछौँ।”
प्रशिक्षक राजेन्द्र तामाङले पनि खेलाडीहरुको उच्च मनोबल र जितको भावना देखाउँदै बंगलादेशविरुद्ध रणनीतिक रूपमा खेल्ने विश्वास व्यक्त गरे। “साबिक विजेता बंगलादेशले आफ्नो सशक्त प्रदर्शन गर्नेछ, तर हामी पनि कमजोरी छैनौँ,” तामाङले भने। उनले खेलाडीलाई मौकाको सदुपयोग गर्न र आफ्नो पोजिसनमा उत्कृष्ट खेल्न अनुरोध गरेका छन्।
बंगलादेशका प्रशिक्षक पिटर बटलरले यस फाइनल खेल निकै प्रतिस्पर्धात्मक हुने बताउँदै नेपालसँगको प्रतिस्पर्धालाई चुनौतीपूर्ण ठानेका छन्।





