कास्की प्रहरीको अनुसन्धानका क्रममा रवि लामिछानेसहितका केही व्यक्ति सहकारी ठगी र संगठित अपराधमा संलग्न रहेको आशंकामा हिरासतमा छन्। प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माका अनुसार, अहिले सम्पत्ति शुद्धीकरणको मुद्धामा समेत अनुसन्धान अगाडि बढाइएको छ। अनुसन्धान प्रतिवेदन तयार हुँदै गरेको र यसलाई कसरी प्रस्तुत गरिने भन्नेबारे समयमै जानकारी गराइने उनले बताए।
संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले गोर्खा मिडिया नेटवर्कसँग सम्बन्धित पाँच सहकारीबाट करिब ६५ करोड रुपैयाँ अपचलन भएको जनाएको छ। यस घटनामा गोर्खा मिडियाका अध्यक्ष जीबी राई, सञ्चालक छविलाल जोशी र कुमार रम्तेल तथा पूर्व सञ्चालक रवि लामिछानेमाथि कारबाही सिफारिस गरिएको छ।
डीएसपी शर्माले लामिछाने र जोशीको नेतृत्वमा रहेको समूहले सुप्रिम र सूर्यदर्शनलगायतका सहकारीमार्फत गोर्खा मिडियामा रकम स्थानान्तरण गरेको र दुरुपयोग गरेको आरोपमा अनुसन्धान भइरहेको बताए।
गत असोजमा छविलाललाई पक्राउ गरिएको थियो भने लामिछानेलाई यही शुक्रबार थप सात दिनका लागि हिरासतमा राख्न आदेश दिइएको छ। यसैबीच, जीबी राईको खोजी जारी छ भने रम्तेल कास्की कारागारमा पुर्पक्षका लागि रहेका छन्।

प्रहरीको अनुसन्धानले प्रत्यक्ष सहकारीमार्फत नभए पनि अप्रत्यक्ष रूपमा अपचलन गरिएका रकम आर्जनमा संलग्नता हुन सक्ने आधारमा सम्पत्ति शुद्धीकरणको मुद्दा थपिएको बताएको छ। कास्की जिल्ला सरकारी वकिल कार्यालयले यो मुद्दामा अनुसन्धान प्रतिवेदन आएपछि प्रक्रियागत रुपमा अघि बढाउने जनाएको छ।
सुप्रिम सहकारी ठगी प्रकरणमा छविलाई रुपन्देही लैजाइ बयान गराई पुनः पोखरा फर्काइएको थियो। यसै क्रममा सुप्रिम सहकारीको ठगी र संगठित अपराधका आरोपमा थप १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ।
रविलाई राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरिएको भन्दै रास्वपाले पोखराबाट सुरु गरेको प्रदर्शन अब काठमाडौंमा समेत सञ्चालन गर्ने घोषणा गरेको छ। रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले पत्रकार सम्मेलनमा यो घटनालाई रविलाई सिध्याउने उद्देश्यले रचिएको षडयन्त्रको संज्ञा दिएका छन्।