क्विन्सल्याण्डको राज्य चुनाव नजिकिँदै गर्दा महिलाको प्रजनन अधिकार प्रमुख चुनावी मुद्दा बनेको छ। राज्यमा गर्भपातलाई २०१८ मा कानूनी मान्यता दिइएको थियो, जसअनुसार २२ हप्तासम्मको गर्भपातलाई अनुमति दिइएको छ। त्यसपछि भने, दुई चिकित्सकको स्वीकृति आवश्यक पर्ने व्यवस्था गरिएको छ।
हालै स्वतन्त्र सांसद रोबी क्याटरले वर्तमान गर्भपात कानुन खारेज गर्ने विधेयक संसदमा ल्याउने योजना प्रस्तुत गरेका छन्, जसले पुनः प्रजनन अधिकारलाई बहसको केन्द्रमा ल्याएको छ। यद्यपि प्रारम्भमा उनले कानुनलाई पूर्ण रूपमा खारेज गर्ने प्रस्ताव राखे पनि पछिल्लो समय उनले गर्भपातबाट जन्मिएका शिशुको लागि उपचारको व्यवस्था सुनिश्चित गर्ने विधेयकको कुरा अघि सारेका छन्।
क्विन्सल्याण्डका उप-मुख्यमन्त्री स्टेभन माइल्सले महिलाको निर्णयको अधिकारको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गर्दै यसलाई आफ्नो चुनावी अभियानको मुख्य मुद्दा बनाएका छन्। माइल्सले २०१८ मा गर्भपातलाई कानूनी रूपमा मान्यता दिन नेतृत्वदायी भूमिका निभाएको स्मरण गर्दै वर्तमान कानुनको रक्षा गर्ने र प्रजनन स्वास्थ्यका विषय महिलामै रहने कुरामा जोड दिएका छन्।
यसैबीच, लिबरल नेशनल पार्टी (एलएनपी) का नेता डेविड क्रिसाफुली, जसले २०१८ मा गर्भपातको कानुनीकरणको विरोध गरेका थिए,ले आफू निर्वाचित भएमा कानुन परिवर्तन नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यद्यपि, क्याटरको प्रस्तावित विधेयक संसदमा आएमा एलएनपी सदस्यहरूले पार्टीलाई नभएर व्यक्तिगत रूपमा मतदान गर्ने अधिकार पाउने/नपाउने विषयमा उनले स्पष्ट जवाफ दिन अस्वीकार गरेका छन्।
गर्भपात अधिकारको यो विवाद क्विन्सल्याण्डमा मात्र सीमित छैन। दक्षिण अस्ट्रेलियामा हालै एक विधेयक अलिकति मतान्तरले अस्वीकृत गरिएको थियो, जसले दुर्लभ अवस्थाका लागि २७ हप्तापछि गर्भपातलाई आपराधिक बनाउने प्रावधान राखेको थियो। यसैगरी, केही नेताहरूले राष्ट्रव्यापी रूपमा गर्भपात कानुनको पुनरावलोकनको माग पनि गरिरहेका छन्।
अस्ट्रेलियाका सबै राज्य र क्षेत्रहरूमा कानूनी रूपमा गर्भपातको अधिकार भए तापनि संघीय कानुन वा अस्ट्रेलियन संविधानमा यो अधिकार सुनिश्चित नभएकाले पछिल्ला घटनाक्रमले अधिकारको स्थिरतामा प्रश्न उठाएको छ। वर्षौंको प्रगतिपछि प्रजनन अधिकारमा यस्तो बहस पुनः सुरु हुँदा महिलाका स्वास्थ्य अधिकारका समर्थकहरूले चिन्ता व्यक्त गरेका छन्।
चुनाव नजिकिँदै गर्दा ब्रिस्बेन टाइम्स को लागि रिजल्भ स्ट्राटेजिकले गरेको पछिल्लो सर्वेक्षण अनुसार श्रम पार्टीको प्राथमिक मत ३२ प्रतिशतमा पुगेको छ भने एलएनपी ४० प्रतिशतमा स्थिर देखिएको छ। माइल्सले लोकप्रियताको हिसाबले क्रिसाफुलीसँग ३७ प्रतिशत र ३९ प्रतिशत मतसहित अन्तर नजिक पारेका छन्।भोली बेलुकीदेखि सुरु हुने मतदानले क्विन्सल्याण्डमा प्रजनन अधिकारको भविष्यमा महत्वपूर्ण प्रभाव पार्ने सम्भावना रहेको छ।