जुही चावला बनिन् भारतकी सबैभन्दा धनी अभिनेत्री

भारतीय अभिनेत्री जुही चावला भारतकी सबैभन्दा धनी अभिनेत्री बनेकी छन्, जसको सम्पत्ति ४६०० करोड भारु (५८० मिलियन अमेरिकी डलर) रहेको छ। ‘हुरुन रिच लिस्ट २०२४’ अनुसार जुहीको सम्पत्ति शाहरुख खानपछि दोस्रो स्थानमा पर्छ।

९० को दशकमा बलिउडमा चम्किएकी जुहीले लामो समयदेखि कुनै हिट फिल्म दिएकी छैनन्, तर उनले विभिन्न व्यवसायिक लगानीबाट ठूलो सफलता पाएकी छन्। रेड चिलिज समूहकी प्रमुख लगानीकर्तामध्ये एक भएकी जुहीले यसै कम्पनीमार्फत ठूलो आर्थिक फाइदा कमाएकी छन्। साथै, उनी कोलकाता नाइट राइडर्स (आईपीएल टोली) की सहमालिक पनि हुन्।

जुहीको सम्पत्ति निर्माणमा फिल्म उद्योगले आंशिक मात्र भूमिका खेलेको हो, जबकि उनको मुख्य आय व्यापारिक लगानी र सम्पत्ति कारोबारबाट आएको हो। उनीसँग धेरै घरजग्गाको स्वामित्व छ र उनले पति जय मेहता संग संयुक्त व्यवसायिक लगानी गरेकी छन्।

धनाढ्य भारतीय अभिनेत्रीहरूको सूचीमा जुहीपछाडि ऐश्वर्या राय छिन्, जसको सम्पत्ति ८५० करोड भारु (१०० मिलियन डलर) रहेको छ। तेस्रो स्थानमा प्रियंका चोपडा ६५० करोड भारुसहित छन्, जसले हलिउड फिल्म र ब्रान्ड इन्डोर्समेन्टबाट कमाइ गरेकी छन्। शीर्ष पाँचमा आलिया भट्ट र दीपिका पादुकोण पनि छन्, जसले ठूला व्यवसायिक उद्यमहरूसँग पनि सम्बन्ध राख्छन्।