न्यु साउथ वेल्सका नर्सहरूको तलबमा ३ प्रतिशत वृद्धि

न्यू साउथ वेल्स (NSW) का नर्सहरूले लामो समयदेखि भइरहेको आन्दोलनपछि ३ प्रतिशत तलब वृद्धि गराउन सफल भएका छन्। राज्यभरि काम गर्ने नर्सहरूको तलब न्यून भएको भन्दै न्यू साउथ वेल्स नर्स तथा मिडवाइफरी एसोसिएसनले कम्तिमा १५ प्रतिशत तलब वृद्धिको माग गर्दै तीन महिनाभन्दा बढी समयदेखि आन्दोलन गर्दै आएका थिए। तर, राज्य सरकारले यो मागलाई सम्बोधन गरेको थिएन।गत साता नर्सहरूले आम हडतालको घोषणा गरेपछि सरकारले वार्तामा बस्न सहमति जनाएको थियो। यस वार्ताको परिणामस्वरूप नर्सहरूको तलबमा तत्कालै ३ प्रतिशत वृद्धि गर्ने निर्णय गरिएको हो।


न्यू साउथ वेल्समा नर्सहरूको वार्षिक न्यूनतम तलब ६९ हजारदेखि ९८ हजार अष्ट्रेलियन डलर रहेको छ। यो तलब वृद्धिले आन्दोलनरत नर्सहरूको केही आर्थिक समस्या समाधान गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ। तर, एसोसिएसनले माग गरेको १५ प्रतिशत वृद्धिको तुलनामा यो निर्णय कम भएको बताइएको छ।
तलब वृद्धिपछि नर्सहरूले आन्दोलन स्थगित गरेका छन्। न्यू साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले यस सहमतिको स्वागत गर्दै तलब वृद्धिलाई यथाशक्य चाँडो लागू गरिने प्रतिवद्धता जनाएका छन्। एसोसिएसनले यस आन्दोलनलाई हालका लागि स्थगित गरेको भए पनि भविष्यमा थप सुधारका लागि कुराकानी जारी रहने संकेत गरेको छ।