नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरको राजीनामा माग गरेको छ। बुधबार कांग्रेसका शीर्ष नेताहरूको बैठकले उपसभामुखले मुलुकको गरिमा कम गर्ने काम गरेको निष्कर्ष निकाल्दै राजीनामा दिन आग्रह गरेको हो।
उपसभामुख रानामगरले राष्ट्रसंघको “कमिसन अन द स्टाटस अफ वुमेन” को ६७औं सत्रमा सहभागी हुन पाँच जनाको नाम अमेरिकन दूतावासलाई सिफारिस गर्दै पत्र लेखेकी थिइन्। पत्रमा चार पुरुष र एक महिला समावेश गरिए पनि अमेरिकाले उनीहरूलाई जान अनुमति दिएको थिएन। २०२३ को फेब्रुअरीमा लेखिएको यो पत्र केही समयअघि सार्वजनिक भएपछि उपसभामुख विवादमा तानिएकी छन्।

कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले बैठकपछि उपसभामुखको कृत्य संसदको गरिमा विपरीत रहेको बताउँदै राजीनामा दिन सुझाव दिए। उनले उपसभामुखले सिफारिस गर्न नमिल्ने कार्य गरेको र परराष्ट्र मन्त्रालयमार्फत जानुपर्ने कुरा आफैंले पत्रमा लेखेको उल्लेख गरे।
सत्तारूढ गठबन्धनले पनि उपसभामुखलाई पदबाट हटाउने तयारी गरिरहेको छ। यसबारे थप छलफल गर्न कांग्रेसले सत्ता गठबन्धनसँग समन्वय गर्ने निर्णय गरेको छ। कांग्रेसले संसदीय दलको बैठक बोलाएर यस विषयमा छलफल गर्ने योजना बनाएको छ।
यसैबिच, सोमबार प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरूको बैठकमा पनि उपसभामुखको विषय उठेको थियो। मंगलवारको संसद बैठकमा समेत विपक्षी र सत्तारूढ दलका सांसदहरू उपसभामुखको पक्ष र विपक्षमा विभाजित देखिएका थिए।