काठमाडौं – नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। लगातार उकालो लागिरहेको सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।
यसअघि भदौ २ गते सुनको मूल्यले हालसम्मको उच्च स्तर छुँदै प्रतितोला १ लाख ५२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। तर, आज सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा पुगेको छ, जुन अघिल्लो रेकर्डभन्दा ४ सय रुपैयाँले बढी हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार भने छापावाल सुन प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। यस दिनको तुलनामा बुधबार सुनको भाउ ८ सय रुपैयाँले उकालो लागेको छ।

सुनसँगै चाँदीको मूल्य पनि बुधबार वृद्धि भएको छ। आज चाँदीको भाउ प्रतितोला १ हजार ८३५ रुपैयाँमा पुगेको छ, जुन मंगलबारको १ हजार ८२० रुपैयाँको तुलनामा १५ रुपैयाँले बढी हो।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको भाउले सुधार देखाएको छ, जहाँ सुन प्रतिऔंस २,५१७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।