अस्ट्रेलियामा अनलाइन ठगीको स्वरूप झन् जटिल बन्दै गएको छ। सन् २०२६ मा हालसम्म विभिन्न प्रकारका ठगीबाट अस्ट्रेलियालीहरूले करिब १८ करोड ६९ लाख डलर गुमाइसकेको स्क्यामवाचको तथ्यांकले देखाएको छ।
यो रकम गत वर्षको सोही अवधिमा भएको करिब २१ करोड डलर क्षतिभन्दा कम भए पनि ठगी गर्ने समूहहरूले कृत्रिम बुद्धिमत्ता, नक्कली वेबसाइट र सामाजिक सञ्जालको प्रयोग बढाउँदै लगेका छन्।
सबैभन्दा ठूलो आर्थिक क्षति लगानीसम्बन्धी ठगी बाट भएको छ। जनवरीदेखि अगस्टसम्म यस्ता ठगीबाट मात्रै करिब ९ करोड ६० लाख डलर गुमेको छ। त्यसपछि प्रेम सम्बन्धको बहानामा गरिने ठगीबाट १ करोड ७७ लाख डलर तथा खाता कब्जा र पहिचान चोरीसम्बन्धी ठगीबाट १ करोड ६५ लाख डलर क्षति भएको छ।
पछिल्लो समय ठगी गर्नेहरूले एआईमार्फत चर्चित व्यक्ति तथा विश्वासिला सार्वजनिक व्यक्तित्वको नक्कली तस्बिर, आवाज र भिडियो तयार गरी लगानीको प्रचार गर्ने क्रम बढाएका छन्। यस्ता सामग्री वास्तविक जस्तै देखिने भएकाले सामाजिक सञ्जाल प्रयोगकर्ताहरू सजिलै भ्रममा पर्न सक्ने चेतावनी दिइएको छ।
साइबर सुरक्षा विज्ञहरूले अनलाइनमा देखिएको कुनै पनि आकर्षक लगानी प्रस्तावलाई तत्काल विश्वास नगर्न आग्रह गरेका छन्। विशेषगरी अत्यधिक नाफाको आश्वासन, तुरुन्त पैसा पठाउन दबाब दिने प्रस्ताव वा चर्चित व्यक्तिको नाम प्रयोग गरिएको विज्ञापन देखिएमा आधिकारिक स्रोतबाट छुट्टै जाँच गर्न सुझाव दिइएको छ।
यसैबीच, युवा पुस्तासमेत अनलाइन ठगीको बढ्दो जोखिममा रहेको पाइएको छ। अनलाइन किनमेल, लगानी तथा विभिन्न डिजिटल सेवामा सक्रिय मिलेनियल र जेन–जी पुस्ता ठगी गर्नेहरूको निशानामा पर्न थालेका छन्।
एउटै पासवर्ड धेरै वेबसाइटमा प्रयोग गर्ने, कमजोर पासवर्ड राख्ने र अपरिचित लिङ्क खोल्ने बानीले जोखिम थप बढाउने विशेषज्ञहरूको भनाइ छ।
अस्ट्रेलियन सरकारले ठगी नियन्त्रणका लागि नयाँ Scams Prevention Framework लागू गर्ने तयारी गरिरहेको छ। यसअन्तर्गत बैंक, दूरसञ्चार कम्पनी तथा ठूला डिजिटल प्लेटफर्मलाई ठगी रोकथाम, पहिचान र कारबाहीका लागि थप जिम्मेवार बनाइनेछ। नयाँ व्यवस्था मार्च २०२७ देखि लागू हुने तयारी छ।
विशेषज्ञहरूले अनलाइनमा पैसा पठाउनुअघि जानकारीको स्वतन्त्र रूपमा पुष्टि गर्न, शंकास्पद लिङ्क नखोल्न र हतारमा आर्थिक निर्णय नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।





