अष्ट्रेलियाको संघीय सरकारले प्रस्ताव गरेको Combating Antisemitism, Hate and Extremism Bill संसदमा प्रवेश गर्नुअघि नै असफल हुने निश्चित भएको छ। प्रमुख विपक्षी दल Coalition र Greens दुबै दलले विधेयकको विरोध जनाएपछि सरकारको पहल रोकिएको हो।
विपक्षी नेता Sussan Ley ले बोंडीमा गत डिसेम्बर १४ मा भएको आक्रमणको सन्दर्भमा ल्याइएको यो विधेयक “पूर्ण रूपमा असुधारयोग्य (unsalvageable)” रहेको दाबी गर्दै लिबरल र नेशनल पार्टीले यसको विपक्षमा मतदान गर्ने स्पष्ट गरिन्।
Greens पार्टीले पनि हालको स्वरूपमा विधेयकलाई समर्थन नगर्ने जनाएको छ।
Greens की उपनेत्री Mehreen Faruqi ले विधेयक अत्यन्तै व्यापक, जटिल र पर्याप्त छलफल बिना आएको भन्दै गहिरो संसदीय छानबिन आवश्यक रहेको बताइन्।
उनले भनिन्, “हाम्रो समाजले सबै प्रकारका घृणा र जातीय विभेद अस्वीकार गर्नुपर्छ—चाहे त्यो यौनिक पहिचान, धार्मिक पहिचान वा लैङ्गिक पहिचानका आधारमा भएको आक्रमण नै किन नहोस्।”
Greens पार्टीले विधेयकलाई सबै धर्म र सबै प्रकारका घृणालाई समेट्ने गरी विस्तार गर्नुपर्ने धारणा राखेको छ।
यसैबीच, विपक्षी दलले सरकारको प्रस्तावित कानुनको सट्टा कला, शिक्षा र समग्र समाजमा बढ्दो यहूदीविरोध (antisemitism) विरुद्ध फरक उपायहरू ल्याउने र कानुनमै antisemitism को परिभाषा स्पष्ट रूपमा समावेश गर्ने जनाएको छ।
Sussan Ley ले सरकारको प्रस्तावलाई “आधा पकाएको” भन्दै बोंडी आक्रमणको जरोसम्म पुग्न नसकेको आरोप लगाइन्।
उनका अनुसार संसद क्रिसमसअघि नै पुनः बस्नुपर्ने थियो, ताकि चरमपन्थ र यहूदीविरोधी गतिविधिविरुद्ध स्पष्ट नेतृत्व देखाउन सकिन्थ्यो।
यो विधेयकमा घृणात्मक भाषण र बन्दुकसम्बन्धी कडा व्यवस्था, बन्दुक खरिद–फिर्ता योजना, आप्रवासन नियम कडाइ, घृणात्मक प्रतीकको प्रतिबन्ध विस्तार, बालबालिकालाई उग्रवादतर्फ उक्साउने प्रचारकविरुद्ध नयाँ अपराध व्यवस्था, तथा ‘घृणात्मक संगठन’ को परिभाषा निर्धारणको सीमा घटाउने प्रावधान समावेश छन्।
तर वर्तमान राजनीतिक अवस्थाका कारण संसद सोमबार र मंगलबार पुनः बस्दा यो विधेयक पास नहुने निश्चित देखिएको छ।
प्रधानमन्त्री Anthony Albanese ले भने विधेयक सद्भावनाका साथ सार्वजनिक गरिएको र सबै दलबाट संशोधन सुझावका लागि खुला रहेको बताए।
उनले राष्ट्रिय एकताको आवश्यकता औँल्याउँदै सांसदहरूलाई रचनात्मक रूपमा छलफलमा सहभागी हुन आह्वान गरे।
Greens नेतृ Larissa Waters सँग पनि नियमित संवाद भइरहेको Albanese ले जानकारी दिए।
यस विधेयकलाई Executive Council of Australian Jewry (ECAJ) ले समर्थन गरेको छ।
ECAJ का सह–कार्यकारी प्रमुख पिटर वर्टहाइमले यसलाई “सही दिशातर्फको महत्वपूर्ण कदम” भन्दै antisemitism, घृणा र चरमपन्थ न्यूनीकरण गर्न कानुन थप सुदृढ हुनुपर्ने बताएका छन्।





