गर्मी र Barbecue सँगसँगै, तर सावधानी नअपनाए रमाइलो बिग्रिन सक्छ !!!

Advertisement

अष्ट्रेलियामा गर्मीको मौसमसँगै बार्बेक्युको चलन बढ्दो छ। तर खाना सही तरिकाले नपकाउँदा खाद्य विषाक्तताको जोखिम बढ्ने भन्दै NSW Health ले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

NSW Health का अनुसार अर्धपकाइएको मासु, कुखुरा तथा अन्य खाद्य पदार्थमा salmonella, listeria, campylobacter र E. coli– जस्ता हानिकारक ब्याक्टेरिया हुन सक्छन्। तर खाना उचित तापक्रममा र पर्याप्त समयसम्म पकाए यी ब्याक्टेरिया नष्ट भई खाद्य विषाक्तताबाट जोगिन सकिने बताइएको छ।

NSW Food Authority को तथ्यांकअनुसार अष्ट्रेलियामा हरेक वर्ष करिब ४६.८ लाख मानिस खाद्य विषाक्तताबाट प्रभावित हुने गरेका छन्। यसको कारणमा खाना राम्ररी नपकाउनु, चिस्यान आवश्यक पर्ने खाना पाँच डिग्री सेल्सियसभन्दा तल भण्डारण नगर्नु, बिरामी व्यक्ति वा कमजोर हात सरसफाइबाट खाना सम्हालिनु, म्याद सकिएको खाना सेवन गर्नु तथा क्रस–कन्टामिनेसन प्रमुख हुन्।

सुरक्षित पकाउने तापक्रम

  • पिसिएको मासु (ससेज, बर्गर, रिसोल): ७१°C
  • गाई, भेडा, बाख्रा, सुँगुर (मिडियम रेयर): ६३°C — पकाएपछि कम्तीमा ३ मिनेट आराम
  • मिडियम: ७१°C
  • वेल–डन: ७७°C
  • कुखुरा/टर्की (सबै भाग): ७४°C
  • माछा: ६३°C
  • बाँकी राखिएको खाना (लेफ्टओभर): ६०°C

रङ मात्र भरपर्दो सूचक नहुने भएकाले मासु थर्मोमिटर प्रयोग गर्न सल्लाह दिइएको छ।

थर्मोमिटर राख्ने सही स्थान

  • कुखुरा: छाती नजिक भित्री थाइ भागमा, हड्डी नछुने गरी
  • पिसिएको मासु/कुखुरा: सबैभन्दा बाक्लो भागमा
  • रोस्ट, स्टेक, चप्स: मासुको केन्द्रमा, हड्डी/बोसोबाट टाढा
  • क्यासरोल र अण्डाका परिकार: परिकारको सबैभन्दा बाक्लो भागमा

स्वास्थ्य निकायले खाना प्याकेजमा दिइएका पकाउने निर्देशन पालना गर्न, सही तापक्रम सुनिश्चित गर्न र सुरक्षित भण्डारणमा ध्यान दिन सबैलाई आग्रह गरेको छ।