अस्ट्रेलियाको तथ्यांक विभाग (Australian Bureau of Statistics – ABS) ले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार सन् २०२५ जुन ३० सम्म देशभर सक्रिय रूपमा कारोबार गरिरहेका व्यवसायको संख्या २७ लाख २९ हजार ६४८ पुगेको छ । तीमध्ये ९ लाख ९४ हजार १७८ व्यवसायले कर्मचारी राखेर सञ्चालन गरिरहेका छन् भने बाँकी गैर–नियोजक (non-employing) व्यवसाय रहेका छन् ।
सन् २०२४–२५ आर्थिक वर्षमा अस्ट्रेलियाको व्यवसायिक संरचनामा समग्र रूपमा वृद्धि देखिएको छ । यस अवधिमा कुल व्यवसाय संख्या २.५ प्रतिशतले बढ्दै ६६ हजार ६५० ले वृद्धि भएको ABS ले जनाएको छ । सोही वर्ष ४ लाख ३७ हजार १५० नयाँ व्यवसाय दर्ता भएका छन्, जसले १६.४ प्रतिशत प्रवेश दर देखाउँछ । यद्यपि, ३ लाख ७० हजार ५०० व्यवसाय बन्द भएका छन्, जसको बहिर्गमन दर १३.९ प्रतिशत रहेको छ ।
उद्योगगत अवस्था
उद्योगगत रूपमा हेर्दा सन् २०२४–२५ मा स्वास्थ्य सेवा तथा सामाजिक सहायता क्षेत्र सबैभन्दा द्रुत गतिमा बढेको छ । यस क्षेत्रमा व्यवसाय संख्या ६.६ प्रतिशतले वृद्धि भई २ लाख १३ हजार १७७ पुगेको छ । यस्तै, यातायात, Posta तथा Warehouse क्षेत्रमा ५.१ प्रतिशतले वृद्धि हुँदै २ लाख ४९ हजार २८९ व्यवसाय पुगेका छन् भने वित्तीय तथा बीमा सेवा क्षेत्रमा ३.७ प्रतिशत वृद्धि भई १ लाख ३३ हजार ७४३ व्यवसाय पुगेका छन् ।
यसको विपरीत, कृषि, वन तथा माछापालन क्षेत्रमा ०.८ प्रतिशतले व्यवसाय संख्या घटेको छ भने खुद्रा व्यापार क्षेत्रमा ०.४ प्रतिशत गिरावट आएको छ । यसले परम्परागत क्षेत्रभन्दा सेवा–केन्द्रित उद्योगतर्फ व्यवसायिक गतिविधि सर्दै गएको संकेत गरेको छ ।
राज्य तथा क्षेत्रगत स्थिति
राज्य तथा क्षेत्रगत रूपमा न्यू साउथ वेल्समा सबैभन्दा धेरै, २० हजार ४० व्यवसाय थपिएका छन् । भिक्टोरियामा १६ हजार ४८६ व्यवसाय वृद्धि भएको छ भने पश्चिमी अस्ट्रेलियामा १० हजार ८७७ व्यवसाय थपिँदा प्रतिशतका आधारमा सबैभन्दा बढी ४.३ प्रतिशत वृद्धि देखिएको छ । ABS का अनुसार सन् २०२४–२५ मा अस्ट्रेलियाका सबै राज्य तथा क्षेत्रहरूमा व्यवसाय संख्या बढेको छ ।
संस्थागत र कानुनी संरचना
संस्थागत क्षेत्रको आधारमा हेर्दा घरेलु क्षेत्र (households) सबैभन्दा ठूलो समूह बनेको छ । कुल व्यवसायमध्ये ४९.३ प्रतिशत घरेलु क्षेत्र अन्तर्गत रहेका छन्, जसको संख्या १३ लाख ४६ हजार ८३५ पुगेको छ । गैर–वित्तीय कर्पोरेसन १२ लाख ७२ हजारभन्दा बढी र वित्तीय कर्पोरेसन १ लाख ८ हजारभन्दा बढी रहेका छन् ।
कानुनी संरचनातर्फ कम्पनीहरूमा सबैभन्दा ठूलो वृद्धि देखिएको छ । सन् २०२४–२५ मा कम्पनीको संख्या ४.७ प्रतिशतले बढ्दै १२ लाख ७ हजार ८१४ पुगेको छ । यस अवधिमा साझेदारी व्यवसाय भने ४.३ प्रतिशतले घटेका छन्, जबकि एकल स्वामित्व (sole proprietors) व्यवसाय २.४ प्रतिशतले वृद्धि भएका छन् ।
रोजगारी र कारोबार (Turnover)
रोजगारीको आधारमा गैर–नियोजक व्यवसाय ४.३ प्रतिशतले बढेका छन् । यस क्रममा धेरै व्यवसाय नियोजक अवस्थाबाट गैर–नियोजकमा सरेका देखिन्छन् । २०० भन्दा बढी कर्मचारी भएका ठूला व्यवसायमा सामान्य वृद्धि भए पनि १–४ कर्मचारी भएका साना व्यवसायमा भने केही गिरावट देखिएको छ ।
कारोबारको दृष्टिले हेर्दा ९१.५ प्रतिशत व्यवसायको वार्षिक कारोबार २० लाख डलरभन्दा कम रहेको छ । करिब २४ प्रतिशत व्यवसायको कारोबार ५० हजार डलरभन्दा पनि कम रहेको ABS ले जनाएको छ । यद्यपि, २० लाख डलरभन्दा बढी कारोबार गर्ने व्यवसायको संख्या ४.१ प्रतिशतले बढेको छ, जसले मध्यम आकारका व्यवसाय विस्तारतर्फ उन्मुख हुँदै गएको देखाउँछ ।
तथ्यांक प्रणालीमा परिवर्तन
ABS ले सन् २०२५ अगस्टदेखि प्रयोगात्मक त्रैमासिक व्यवसाय तथ्यांक श्रृंखला बन्द गर्ने घोषणा गरेको छ । यसका सट्टा ‘बिग डेटा टाइम्ली इन्साइट्स फेज–२’ कार्यक्रम अन्तर्गत नयाँ ‘बिजनेस क्यारेक्टरिस्टिक्स एसेट’ विकास गरिँदैछ । यसले भविष्यमा साना व्यवसाय, व्यवसाय स्थापना, र व्यवसायको स्थायित्वसम्बन्धी अझ विस्तृत र छिटो तथ्यांक उपलब्ध गराउने ABS को विश्वास छ ।
समग्र रूपमा, पछिल्लो तथ्यांकले अस्ट्रेलियाको व्यवसायिक वातावरण अझै सक्रिय र विस्तारोन्मुख रहेको देखाउँछ । साना तथा सेवा–आधारित व्यवसायले अर्थतन्त्रमा मुख्य भूमिका खेलिरहँदा आगामी वर्षहरूमा व्यवसायिक संरचनामा थप परिवर्तन देखिने संकेत गरेको छ ।




