सिड्नीको Bondi Beach मा भएको घातक गोलीकाण्डपछि अष्ट्रेलियामा बन्दुक नियन्त्रण कानूनलाई कडा बनाउने विषय औपचारिक रूपमा राष्ट्रिय तहमा प्रवेश गरेको छ। अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानेजले न्यू साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले अघि सारेको बन्दुक लाइसेन्स कडाइको प्रस्ताव आज अपराह्न ४ बजे बस्ने नेशनल क्याबिनेट बैठकमा प्रस्तुत गर्ने बताएका छन्।
प्रधानमन्त्री अल्बानेजका अनुसार बैठकमा बन्दुक स्वामित्वको संख्या सीमित गर्ने, बन्दुक लाइसेन्सको नियमित समीक्षा गर्ने तथा राज्य–राज्यबीच लागू भइरहेका कानूनलाई थप एकरूप बनाउने विषयमा छलफल हुनेछ। “मानिसको जीवन परिस्थिति समयसँगै परिवर्तन हुन सक्छ, त्यसैले बन्दुक लाइसेन्स आजीवन हुने व्यवस्था उपयुक्त हुँदैन,” उनले स्पष्ट पारे।
हाल अष्ट्रेलियामा बन्दुकसम्बन्धी केही कानून संघीय तहमा र केही राज्य तहमा लागू छन्। यसलाई मध्यनजर गर्दै सरकार देशभर एउटै मापदण्डमा आधारित बन्दुक कानून लागू गर्ने दिशामा छलफल अघि बढाइरहेको छ। यही प्रक्रियाअन्तर्गत सन् २०२८ सम्म लागू गर्ने लक्ष्यसहित राष्ट्रिय बन्दुक दर्ता प्रणाली (नेशनल फायरआर्म्स रजिस्टर) विकास भइरहेको सरकारको भनाइ छ। उक्त प्रणाली सन् २०२२ मा वेइएम्बिल्लामा भएको घातक प्रहरी गोलीकाण्डपछि स्वीकृत गरिएको थियो।
बोंडी बिचमा भएको आक्रमणमा ५० वर्षीय साजिद अकराम र उनका २४ वर्षीय छोरा नविद अकराम संलग्न रहेको आरोप छ। घटनामा हालसम्म १५ जना निर्दोष नागरिकको ज्यान गएको छ भने साजिद अकरामको पनि मृत्यु भएको पुष्टि भइसकेको छ। नविद अकराम गम्भीर अवस्थामा प्रहरी निगरानीमा अस्पतालमा उपचाररत छन्।
न्यू साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले राज्य सरकारले बन्दुक कानूनलाई थप कडा बनाउने प्रतिबद्धता जनाएका छन्। यद्यपि, नयाँ विधेयक तयार गर्न समय लाग्ने भन्दै उनले सार्वजनिक रूपमा धैर्य गर्न आग्रह गरेका छन्। उनका अनुसार आजीवन बन्दुक लाइसेन्स दिने व्यवस्था अब “उद्देश्यअनुसार उपयुक्त” छैन। “यदि तपाईं किसान वा कृषि क्षेत्रमा संलग्न हुनुहुन्न भने, सर्वसाधारणको सुरक्षामा खतरा पुर्याउने यस्ता शक्तिशाली हतियार आवश्यक हुँदैन,” मिन्सले भने।
NSW प्रहरी आयुक्त मल ल्याननले साजिद अकरामसँग सन् २०१५ देखि बन्दुक लाइसेन्स रहेको पुष्टि गरेका छन्। उक्त लाइसेन्स अन्तर्गत उनले क्याटेगरी A र B का दर्ता गरिएका लामो हतियारहरू मनोरञ्जनात्मक सिकारका लागि प्रयोग गर्दै आएको र उनी एक गन क्लबका सदस्य रहेको जानकारी दिइयो। ल्याननका अनुसार बन्दुक लाइसेन्सका लागि गरिने जाँच प्रक्रिया कडा छ र उपलब्ध सबै गुप्तचर सूचनालाई मूल्याङ्कन गरेर मात्र लाइसेन्स प्रदान गरिन्छ।
घटनापछि प्रहरीले बोनिरिग र क्याम्प्सी क्षेत्रका घरहरूमा छापा मारी आरोपितसँग दर्ता भएका छ वटा बन्दुक बरामद गरेको छ। प्रारम्भिक विवरणअनुसार आक्रमणमा सटगन र बोल्ट–एक्सन प्रकारका हतियार प्रयोग गरिएको थियो।
यसैबीच, प्रिमियर मिन्सले यहूदी समुदाय लक्षित घृणा र यहूदीविरोधी गतिविधिविरुद्ध कडा कदम चालिने संकेत दिएका छन्। Bondi Beach गोलीकाण्डले अष्ट्रेलियामा सार्वजनिक सुरक्षा, बन्दुक नियन्त्रण र कानून सुधारको आवश्यकता फेरि एकपटक गम्भीर रूपमा उठाएको छ।





