अष्ट्रेलियाको प्रमुख प्रविधि कम्पनी Microsoft Australia ले आफ्ना लाखौँ प्रयोगकर्तासँग माफी मागेको छ। कम्पनीले सदस्यता नवीकरणका क्रममा मूल्य र योजनाबारे पर्याप्त जानकारी नदिएको स्वीकार गरेको छ।
Australian Competition and Consumer Commission (ACCC) ले कम्पनीमाथि मुद्दा दायर गर्दै आरोप लगाएको छ कि Microsoft ले आफ्ना ग्राहकहरूलाई Microsoft 365 सदस्यता योजना परिवर्तन गर्दा सस्तो विकल्पको बारेमा जानकारी नदिई, महँगो Copilot समावेश भएको योजना रोज्न प्रेरित गरेको थियो।
ACCC की अध्यक्ष Gina Cass-Gottlieb का अनुसार, Microsoft ले सस्तो Classic Plan को जानकारी लुकाएर प्रयोगकर्तालाई सीमित विकल्पमा राखेको थियो, जसका कारण करिब २.७ मिलियन अष्ट्रेलियाली उपभोक्ताले अनावश्यक रूपमा बढी शुल्क तिरेका छन्।
उनले भनिन्, “Microsoft 365 का एपहरू धेरै अष्ट्रेलियालीहरूको दैनिकीमा आवश्यक छन्। यस्तो अवस्थामा कम्पनीले स्पष्ट जानकारी नदिई उपभोक्तालाई महँगो योजना रोज्न बाध्य पार्नु अनुचित हो।”
यस घटनापछि कम्पनीमाथि अधिकतम ५० मिलियन अष्ट्रेलियन डलर जरिवानाको सम्भावना रहेको छ। ACCC ले अदालतमार्फत उपभोक्ताको क्षतिपूर्ति र कम्पनीमाथि कडा कारबाहीको माग गरेको छ।
घटनापछि Microsoft Australia ले विज्ञप्ति जारी गर्दै भनेको छ — “हामीले मूल्य परिवर्तन गर्दा non-AI योजना (Classic Plan) बारे पर्याप्त स्पष्टता दिन सकेनौँ। यसका लागि हामी माफी चाहन्छौँ।” कम्पनीले आजदेखि प्रभावित प्रयोगकर्तालाई इमेलमार्फत वैकल्पिक सस्तो योजना र Refund सम्बन्धी जानकारी पठाउन सुरु गरेको जनाएको छ।
Microsoft का प्रवक्ताले थपे, “हामी अष्ट्रेलियामा ४० वर्षभन्दा बढी समयदेखि सेवा दिइरहेका छौँ। पारदर्शिता र विश्वास हाम्रो सिद्धान्त हो, तर यस घटनामा हामी त्यसमा चुकेका छौँ। भविष्यमा यसबाट सिकेर सुधार गर्नेछौँ।”
हाल ACCC र Microsoft बीचको मुद्दा संघीय अदालतमा अगाडि बढिरहेको छ। उपभोक्तालाई आफ्नो इमेल जाँच गर्न र आवश्यक परे सस्तो योजना रोज्न वा फिर्ता रकम दाबी गर्न आग्रह गरिएको छ।






