अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्य फेरि एकपटक भीषण मौसमको उच्च जोखिममा रहेको छ। गत सप्ताहमा दक्षिण–पूर्वी क्षेत्रमा आएको सुपरसेल आँधीबेरी (supercell storm) ले ठूलो क्षति पुर्याएपछि अब फेरि पुनः वर्षा र आँधीको सम्भावना देखिएको छ।
Bureau of Meteorology (BOM) का अनुसार सोमबार साँझदेखि राज्यका धेरै भागमा पुनः शक्तिशाली आँधीबेरी र वर्षा हुने अनुमान गरिएको छ। विशेष गरी ब्रिसबेनसहित दक्षिण–पूर्वी क्षेत्रहरू-Darling Downs, Central Highlands, Capricornia, Wide Bay–Burnett र Central Coast क्षेत्रमा भारी वर्षा, हावाहुरी र बिजुली चम्कासहितको मौसम रहने चेतावनी जारी गरिएको छ।
शनिबार र आइतबार आएको सुपरसेल आँधीले Toowoomba र दक्षिण–पूर्वी तटीय क्षेत्रहरूमा ठूलो आकारका हिउँका गोलाहरू (hailstones) वर्षिएर घर, सवारीसाधन र व्यवसायिक भवनहरूमा क्षति पुर्याएको थियो। दर्जनौं स्थानमा बिजुली अवरोध, छाना उड्ने र बाटो अवरुद्ध भएका छन्।
मौसम विज्ञ Rebecca Masters का अनुसार, “राज्यको वायुमण्डलीय आर्द्रता (Atmospheric Humidity)अत्यधिक बढेका कारण मौसम अस्थिर बनेको छ, जसले पुनः गम्भीर आँधीबेरी निम्त्याउन सक्छ।”
दिउँसो ४ बजेको मौसम रडार (rain radar) अनुसार Central Highlands क्षेत्रमा सक्रिय वर्षा प्रणाली देखिएको थियो।
त्यसैबीच, Moreton Bay र Gold Coast Waters क्षेत्रमा बलियो हावाको चेतावनी (strong wind warning) कायम छ भने उत्तर क्वीन्सल्याण्डका Peninsula र North Tropical Coast तथा Tablelands क्षेत्रमा तातो हावाको लहर (heatwave warning) जारी गरिएको छ।
सुपरसेल आँधीले गत सप्ताहमा क्वीन्सल्याण्डको दक्षिण–पूर्वी भागमा जनजीवन अस्तव्यस्त बनाएको थियो। केही विवाह स्थलको छाना समेत उडेको, बिजुलीका पोल ढलेका र सयौं घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको स्थानीय अधिकारीहरूले जनाएका छन्।

BOM का अधिकारीहरूले जनतालाई आगामी घण्टाहरूमा सतर्क रहन, घरबाहिरका वस्तुहरू सुरक्षित राख्न र आवश्यक परे सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन्। साथै, तीव्र वर्षा वा बिजुली चम्कासहितको मौसममा सडकमा यात्रा नगर्न र आपतकालीन सेवाको निर्देशन पालना गर्न सुझाव दिइएको छ।
मंगलबारदेखि मौसम सामान्य हुने अनुमान गरिएको छ, तर विभागले अझै अनिश्चित अवस्थाका कारण सावधानी अपनाउन आग्रह गरेको छ।





