अष्ट्रेलियाको रात्री आकाशमा यस सातादेखि सुरु भएको Leonid Meteor Shower,November 6 देखी November 3 सम्म चल्नेछ। खगोलविद्हरूका अनुसार यसको चरम दृश्य नोभेम्बर १७ र १८ (November 17–18) तारिख राति देखिनेछ, जब प्रतिघण्टा करिब १० वटा उल्का (Meteor) आकाशमा टल्किने अपेक्षा गरिएको छ।
यो अद्भुत खगोलीय घटना हरेक वर्ष नोभेम्बर महिनामा हुने गर्छ। यसको नाम सिंह तारामण्डल (Leo Constellation) बाट राखिएको हो, किनभने उल्का वर्षाको उत्पत्तिस्थान आकाशको सो क्षेत्रमा देखिन्छ। यो घटना तब देखिन्छ जब पृथ्वीले धूमकेतु टेम्पल–टटल (Comet Tempel–Tuttle) को धूलो र अवशेष पार गर्छ। ती कणहरू वायुमण्डलमा प्रवेश गर्दा जल्दै टल्किने Shooting Star को रूपमा देखिन्छन्, जसले रात्री आकाशलाई झिलमिल पार्छ।
अष्ट्रेलियाका सबै प्रमुख सहरहरू — सिड्नी (Sydney), मेलबर्न (Melbourne), ब्रिस्बेन (Brisbane), पर्थ (Perth), एडेलेड (Adelaide), क्यानबेरा (Canberra), होबार्ट (Hobart) र डार्विन (Darwin) — बाट यो दृश्य स्पष्ट रूपमा अवलोकन गर्न सकिन्छ। खगोलविद्हरूले रातको १ बजेदेखि ६ बजेसम्म आकाश अवलोकन गर्न सिफारिस गरेका छन्। उज्यालो प्रदूषणबाट टाढा, खुला आकाश भएको ठाउँ — जस्तै सहर बाहिरको खुला मैदान, समुद्र किनारा वा पहाडी क्षेत्र — उत्तम विकल्प हुने पनी बताइएको छ ।
यो खगोलीय घटना सामान्यतया प्रतिवर्ष देखिए पनि यसको वैज्ञानिक र सांस्कृतिक महत्त्व विशेष छ। यसले पृथ्वी र अन्तरिक्षबीचको सम्बन्धलाई प्रत्यक्षरूपमा देखाउँछ। विज्ञान प्रेमी, विद्यार्थी र फोटोग्राफरहरूका लागि यो दुर्लभ अवसर हो, जहाँ प्रकृतिले आफ्नो सौन्दर्य र रहस्यपूर्ण शक्ति प्रदर्शन गर्छ।
यदि मौसम प्रतिकूल रह्यो वा यो दृश्य हेर्न छुट्यो भने अर्को महिना जेमिनिड उल्का वर्षा (Geminid Meteor Shower) डिसेम्बर ४ देखि २० (December 4–20) सम्म देखिनेछ। यसको चरम दृश्य डिसेम्बर १४ र १५ (December 14–15) तारिख राति हुनेछ, जसमा प्रतिघण्टा १५० उल्का (Meteor) सम्म देखिन सक्ने अपेक्षा गरिएको छ।





