भीषण तुफानको चेतावनी: दक्षिणपूर्व क्वीन्सल्याण्डमा असिनापानी, मुसलधारे वर्षा र तीव्र हावाहुरीको उच्च जोखिम

दक्षिणपूर्व क्वीन्सल्याण्ड अहिले गम्भीर मौसमीय परिवर्तनको तयारीमा छ। मौसम पूर्वानुमान अनुसार Ipswich, लोकर भ्याली (Lockyer Valley), समरसेट (Somerset) र सनशाइन कोस्ट (Sunshine Coast) क्षेत्रमा भीषण वर्षा, असिनापानी र तीव्र गतिको हावाहुरीसहित तुफान आउन सक्ने चेतावनी जारी गरिएको छ। स्थानीय प्रशासन र मौसम विभागले जनतालाई सतर्क रहन, अनावश्यक यात्राबाट टाढा रहन आग्रह गरेको छ।

मौसम विज्ञहरूका अनुसार:- अहिले Coolum Beach बाट नोसा हेड्स (Noosa Heads) तर्फ, Eumundi देखि टेवान्टिन (Tewantin) सम्म, र हेलिडोन (Helidon) बाट ग्याटन (Gatton), ग्रान्थम (Grantham), लिडली (Laidley), ग्र्यान्डचेस्टर (Grandchester) हुँदै मुलगोवी (Mulgowie) सम्म तीव्र तुफानी बादलहरू सरिरहेका छन्। यी बादलहरूले आगामी घण्टाहरूमा मुसलधारे वर्षा र असिनापानी निम्त्याउन सक्ने सम्भावना छ।

यस्तै वाइड बे (Wide Bay) र बर्नेट (Burnett), डार्लिङ डाउनस् (Darling Downs), ग्रानाइट बेल्ट (Granite Belt) र Southeast Coast का केही भागमा पनि सामान्यदेखि मध्यम स्तरको तुफानको चेतावनी जारी गरिएको छ। मौसम विज्ञ बेन डोमेन्सिनो (Ben Domensino) का अनुसार शनिबारको दिन यी तुफानहरू अझ तीव्र र व्यापक हुनेछन्।उहाले भन्नुभयो, “शनिबार बिहानैदेखि न्यु साउथ वेल्स (NSW) र क्वीन्सल्याण्डका पूर्वी क्षेत्रमा तुफानी बादल विकसित हुनेछन्, जुन दिउँसो र बेलुकीसम्म फैलिँदै बढी शक्तिशाली रूप लिन सक्छ।”

उहाँले थप बताउनुभयो, “शनिबारका तुफानहरू विशेष गरी मध्य क्वीन्सल्याण्डदेखि मध्य न्यु साउथ वेल्ससम्म सक्रिय हुनेछन्, जसमा ब्रिस्बेन (Brisbane) र सिड्नी (Sydney) समेत प्रभावित हुन सक्छन्। सुपरसेल तुफान (Supercell Thunderstorms) को विकास हुने जोखिम छ र कतिपय स्थानमा टर्नेडो (Tornado) पनि बन्न सक्ने सम्भावना छ।”

मौसमविद्हरूका अनुसार केही क्षेत्रहरूमा लगातार 6 दिनसम्म दैनिक तुफान देखिन सक्छन्, जसले विद्युत् सेवा अवरुद्ध, सडकमा पहिरो, र आवासीय क्षेत्रमा क्षति पुर्‍याउने सम्भावना रहेको छ। यी तुफानी क्रियाकलापहरू उच्च वायुमण्डलीय दाब परिवर्तन (Upper-level trough) का कारण भएको बताइएको छ, जसले मध्य, पूर्वी र दक्षिणपूर्वी अष्ट्रेलियामा निरन्तर वर्षा र हावाहुरी ल्याउने देखिएको छ।

स्थानीय प्रशासन र आपतकालीन सेवाहरू उच्च सतर्क अवस्थामा छन्। जनतालाई घरभित्र सुरक्षित बस्न, बिजुलीका उपकरणहरूबाट दूरी कायम गर्न, र सडक वा नदी किनार नजिक नजान आग्रह गरिएको छ। साथै, आवतजावतका लागि आवश्यक परेमा मौसम अद्यावधिकहरू नियमित रूपमा सुन्न र मौसम विभागको निर्देशन पालना गर्न भनिएको छ।

विशेषज्ञहरूले चेतावनी दिएका छन् कि- शनिबार बेलुकीदेखि आइतबार बिहानसम्मको समयावधि सबैभन्दा संवेदनशील हुनेछ, र यस अवधिमा हावाहुरीले घर, सवारी साधन र बिजुली सञ्जालमा ठूलो प्रभाव पार्न सक्छ। जनतालाई सचेत रहँदै सुरक्षित स्थानमा बस्न र आपतकालीन अवस्थाको तयारी गर्न सुझाइएको छ।

Advertisement