अष्ट्रेलियामा हरेक चार घण्टामा एउटा बन्दुक चोरी हुने गरेको नयाँ अनुसन्धानले देखाएको छ। The Australia Institute ले सार्वजनिक गरेको ताजा प्रतिवेदन अनुसार देशभर वर्षेनि दुई हजारभन्दा बढी बन्दुक चोरी हुने गरेका छन्। यो औसतले हरेक चार घण्टामा एक बन्दुक चोरी हुने तथ्य देखाउँछ। संस्थाले राज्य र क्षेत्रीय प्रहरी कार्यालयबाट संकलित तथ्यांकका आधारमा :-सन् २०२० पछि मात्रै करिब ९ हजार बन्दुक चोरी भएका र सन् २००० देखि अहिलेसम्म चोरी भएका बन्दुकहरूको संख्या ४४ हजारभन्दा बढी पुगेको जनाएको छ ।
प्रतिवेदन अनुसार अहिले अष्ट्रेलियामा चार मिलियनभन्दा बढी कानुनी रूपमा दर्ता भएका बन्दुकहरू छन्, जुन संख्या १९९६ मा Tasmania को Port Arthur हत्याकाण्डपछि सुरु गरिएको राष्ट्रव्यापी हतियार सुधार अभियानअघि भन्दा बढी हो। सो हत्याकाण्डपछि तत्कालीन प्रधानमन्त्री John Howard ले कडा हतियार नीति लागू गरेका थिए, जसले देशभर बन्दुक स्वामित्वमा ठूलो प्रतिबन्ध लगाएको थियो। तर पछिल्ला वर्षहरूमा कानुनी रूपमा दर्ता भएका बन्दुकहरूको संख्यामा फेरि तीव्र वृद्धि भएको देखिन्छ।
अस्ट्रेलिया इन्स्टिच्युटका अनुसन्धान निर्देशक Rod Campbell का अनुसार, “हजारौं बन्दुक हरेक वर्ष अपराधीहरूको हातमा पुगिरहेका छन्, जसले अष्ट्रेलियाली जनताको सुरक्षामा गम्भीर खतरा निम्त्याएको छ।” उनले भने, “अवैध बन्दुकहरूको प्रमुख स्रोत ३डी प्रिन्टिङ (3D-printing)वा अवैध आयात होइन, बरु कानुनी रूपमा दर्ता भएका बन्दुकको चोरी नै हो। कुरा सरल छ — अष्ट्रेलियामा जति धेरै कानुनी बन्दुक हुन्छन्, त्यति नै अवैध बन्दुक पनि बढ्छन्।”
हालै देशभर गरिएको ठूलो स्तरको संयुक्त हतियार नियन्त्रण अभियानमा प्रहरीले सयौं अवैध बन्दुक बरामद गरेको थियो। सो क्रममा प्रहरीले ३डी प्रिन्टेड (3D-printed)तथा घरमै बनाइएका बन्दुकहरूको प्रयोग पनि बढ्दै गएको पत्ता लगाएको छ। यी बन्दुकहरू अब संगठित अपराधी समूह र ‘sovereign citizen’ नामक स्वतन्त्र समूहसँग जोडिन थालेका छन्। तर प्रहरीले यो पनि जनाएको छ कि:-केही ३डी प्रिन्टेड बन्दुकहरू कानुनी रूपमा दर्ता भएका हतियारधारीहरू वा प्रविधिप्रेमी व्यक्तिहरूका घरमा पनि फेला परेका छन्।
Campbellका अनुसार राज्य र संघीय सरकारहरू यस विषयमा पर्याप्त सक्रिय छैनन्। उनले भने, “यस अनुसन्धानले देखाउँछ कि हतियार नियन्त्रण र सामुदायिक सुरक्षा सुनिश्चित गर्न निरन्तर प्रयास आवश्यक छ। Howard-era को National Firearms Agreement अझै पूर्ण रूपमा कार्यान्वयन भइसकेको छैन भन्ने कुरा धेरैलाई अचम्म लाग्न सक्छ।” उनले सुझाव दिएका छन् कि राज्य सरकारले तत्काल पश्चिमी अष्ट्रेलियाले लागू गरेको नीतिको अनुसरण गर्न सक्छ — जसमा एक व्यक्तिले स्वामित्वमा राख्न सक्ने बन्दुकको संख्यामा सीमा तोकिएको छ।
उनले थपे, “यदि हामी अमेरिकाको जस्तै बन्दुक हिंसाको बाटोमा जान चाहँदैनौं भने, सबै राज्य र क्षेत्रहरूले पश्चिमी अष्ट्रेलियाको उदाहरण पछ्याएर कानुनी बन्दुक स्वामित्वमा सीमा तोक्नुपर्छ। यसले देशभर अवैध बन्दुकको स्रोत घटाउन मद्दत गर्नेछ।”
यो अध्ययनले अष्ट्रेलियाको हतियार नियन्त्रण नीतिमा अझ कठोर सुधारको आवश्यकता देखाएको छ। सन् १९९६ को सुधारपछि बन्दुक हिंसामा कमी आएको भए पनि पछिल्ला वर्षहरूमा चोरी, ३डी प्रिन्टिङ, र निजी स्वामित्वको वृद्धिले नयाँ चुनौती सिर्जना गरेको छ। सुरक्षा विश्लेषकहरूका अनुसार यदि सरकारले समयमै कदम नचाल्ने हो भने अष्ट्रेलियामा पनि हतियार अपराधको दर बढ्ने सम्भावना रहन्छ। यसका लागि बन्दुक दर्ता प्रणाली सुदृढ गर्न, हतियार स्वामित्वमा सीमा तोक्न र हतियार चोरी नियन्त्रणका लागि कडाइका साथ निगरानी बढाउनअपरिहार्य देखिएको छ।





